शशांक भन्छन्- समाजसेवा गर्न मान्छेको रंग र ढंग होइन, मन बदलिनुपर्छ – Nepal Press

शशांक भन्छन्- समाजसेवा गर्न मान्छेको रंग र ढंग होइन, मन बदलिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समाजसेवा र मानवीय काम गर्न मनैबाट लगाव हुनुपर्ने बताएका छन् ।

कागेश्वरी मनोहरामा रहेको असाहय गाईबाछा संरक्षण अभियानको अवलोकन गर्दै उनले समाजसेवा गर्नका लागि मान्छेको रंग र ढंग होइन मन बदलिनुपर्ने बताए । कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेकोमा प्रशंसा गरे । यसमा आफूले पनि सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

कार्यक्रममा पूर्वमन्त्री दीपक गिरीले पनि गाई संरक्षणमा संस्थाको अभियानको सह्राहना गरे । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले राष्ट्रिय जनावरको संरक्षण अभियानलाई स्थानीय सरकारले सक्दो सहयोग गरेको तर केन्द्र सरकारले पनि स्वामित्व लिनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दीपक भट्टराई, कांग्रेसका युवा नेता हरिबोल भण्डारी उपस्थित थिए ।

यसैक्रममा कोइरालाले सो केन्द्रको परिसरमा वीपी कोइरालाका नाममा रुद्राक्षको बिरुवा रोपेका थिए भने त्यहाँ संरक्षण गरिएका गाईलाई पिठो खुवाएका थिए । उनले केन्द्रलाई ५० हजार बराबरको पिठो हस्तान्तरण गरेका छन् ।

एक सय रोपनी क्षेत्रफलमा फैलिएको संरक्षण केन्द्रमा २७१ वटा गाई तथा बाछा छन् । सडकमा बेवारिसे छोडिएका गाईबाछालाई केन्द्रले विगत ७ वर्षदेखि संरक्षण गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर