१९औँ सफल पोखरा म्याराथनमा २१ देशका १५० धावक


पोखरा । आउँदो शनिवार हुने १९औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका धावक सहभागी हुने भएका छन् । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेको म्याराथनका इभेन्टमा ३ हजार १७५ धावकले नाम दर्ता गराएको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।
पुरुषतर्फको म्याराथन दौडमा २१ देशका ८० विदेशीसहित १५० जनाले सहभागिता जनाएका छन् । हाफ म्याराथन महिलामा १० देशका ४० जना, पुरुषतर्फ ११० जना, १० किलोमिटर पुरुषतर्फ २११ र महिलातर्फ १०९ जनाले नाम दर्ता गराएका छन् ।
५ किलोमिटर भेट्रान्स पुरुष र महिलातर्फ ६० जना, ५ किलोमिटर छात्रतर्फ १ हजार ४७० र छात्रातर्फ १ हजार २५ जनाले नाम दर्ता गराएको मञ्चका महासचिव केशव पाठकले जानकारी दिए । रन फर फनमा करिब ७ हजार सहभागी हुने आयोजकको विश्वास छ ।
खुला म्याराथनको विजेतालाई ५ लाख, दोस्रो हुनेलाई ३ लाख, तेस्रो हुनेलाई २ लाख र चौथोदेखि ८औँ स्थान हुनेलाई ३० देखि १० हजार प्रदान गरिने मञ्चका अध्यक्ष गुरुङले बताए ।
खुला म्याराथनमा गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएको उनले बताए । यस पटकदेखि हाफ म्याराथनतर्फ पुरुषतर्फ इभेन्ट थप गरिएको छ ।