बालुवाटार जग्गा प्रकरण- माधव नेपाल र बाबुरामविरुद्धको रिट ५ वर्षमा आज १८ औं पटक पेशीमा – Nepal Press

बालुवाटार जग्गा प्रकरण- माधव नेपाल र बाबुरामविरुद्धको रिट ५ वर्षमा आज १८ औं पटक पेशीमा

चोलेन्द्र शमसेर राणा र नहकुल सुवेदीको इजलासले फैसलाको मिति तोकेपछि तत्कालीन सत्ता गठबन्धनले राणामाथि महाअभियोग लगाएको थियो

काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको पेशी आज फेरि चढेको छ ।

२०७६ माघमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने दूषित निर्णय गर्ने प्रधानमन्त्री माधव नेपाल र बाबुरामलाई अख्तियारले उन्मुक्ति दिएको भन्दै उनीहरुमाथि पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

विगत ५ वर्षमा १३ पटक सुनुवाइका लागि पेशी तोकिएर पनि यो मुद्दा टुंगो लागेको छैन । आज फेरि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पहिलो नम्बरमै पेशी चढेको यो रिटलाई सर्बोच्चले अग्राधिकार समेत दिएको छ ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले निर्णय सुनाउनका लागि २०७९ कात्तिक १५ गतेको मिति तोकेको थियो । तर, त्यसअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरु र बार एशोसियसनले राणाविरुद्ध आन्दोलन गरे भने उनीमाथि महाअभियोग समेत लगाइएको थियो ।

चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस सकिएपछि निर्णय सुनुवाइका लागि कात्तिक १५ को मिति तोकिएको थियो । इजलासले बहस नोट मगाउने आदेश समेत दिएपछि चोलेन्द्रविरुद्ध तत्कालीन सत्ता गठबन्धनले न्यायाधीश र वकिल उतारेको थियो ।

राणामाथि महाअभियोग लगाउँदा यो विषय समेत उठाइएको थियो भने प्रचण्ड र माधवलगायतका नेताले माधव नेपाललाई ललिता निवास प्रकरणमा जेल हाल्ने षडयन्त्र गरेपछि राणालाई महाअभियोग लगाउनुपरेको स्वीकार गरेका थिए ।

यसबीचमा सर्वोच्च अदालतले माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न आदेश दियो । तर, तत्कालीन सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले माधव र बाबुराममाथि अनुसन्धान गर्न नहुने निर्णय गरेको थियो । त्यसमा कांग्रेस, माओवादी, नेकपा एसलगायतका नेता थिए ।

सीआईबीले दुवै नेताको घरमै गएर कागजी बयान भने लिएको थियो । तर, दुवैमाथि मुद्दा भने चलेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराईलाई उक्त प्रकरणमा मन्त्रिपरिषद्बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गर्नु नपर्ने निष्कर्ष निकालेर निकालेर तत्कालीन मन्त्रीहरू विजय गच्छदार,चन्द्रदेव जोशी लगायतविरुद्ध मात्र मुद्दा दायर गरेको थियो ।

मन्त्रिपरिषदले गरेको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यी समाचार पनि पढ्नुहोस्-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर