नरहरिनाथमा पाँच करोड लागतमा सडक उद्घाटन – Nepal Press

नरहरिनाथमा पाँच करोड लागतमा सडक उद्घाटन

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका अन्तर्गत खुलालु, विश्वकुना, पिपलरुख, थाडुमाडु, उच्छव हुँदै रामारोशन पर्यटकीय सडक खण्डको औपचारिक उद्घाटन गरिएको छ।

बुधवार गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले रिबन काटेर वृद्ध आमा र बालबालिकालाई गाडीमा चढाएर सडक उद्घाटन गरेका हुन्।

उक्त सडक निर्माण आर्थिक वर्ष २०८०/८१ को बजेटअनुसार पाँच करोड रुपैयाँ लागतमा सम्पन्न गरिएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले विकास निर्माणका कामलाई राजनीतिकरण नगर्न सबैलाई आग्रह गरे ।

‘राजनीति गर्ने समय चुनावताका हुन्छ। तर, विकास भने सबैको साझा विषय हो। नरहरिनाथको समृद्धिका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्छ,’ उनले भने।

उनले सडक निर्माण गरिएपछि त्यसको निरन्तरता कसरी दिने भन्ने विषयमा थप ध्यान दिनुपर्ने बताए ।

‘गाडी पुर्‍याउनु मात्र ठूलो उपलब्धि होइन, यसलाई कसरी सञ्चालनमा राख्ने, सुधार गर्ने भन्ने कुरामा पनि योजना बनाउनुपर्छ । गाउँपालिकाले आवश्यक परेमा दुईवटा जेसीबी खटाउनेछ,’ अध्यक्ष विष्टले प्रतिबद्धता जनाए।

अध्यक्ष विष्टले नरहरिनाथको विकासका लागि स्थानीय सरकार र सबै राजनीतिक दलहरू एकसाथ रहेको भन्दै सबैलाई धन्यवाद दिए।

‘विकासको यात्रामा एक्लैले केही गर्न सकिन्न। नरहरिनाथलाई समृद्ध बनाउन सबै पक्षको साथ आवश्यक छ। आगामी दिनमा पनि हामी मिलेर अघि बढ्नेछौं,’ उनले भने।

स्थानीय बासिन्दाले सडक निर्माण भएपछि आवतजावत सहज भएको भन्दै खुशी व्यक्त गरेका छन्। उनीहरूले गाउँपालिकाले थप स्तरोन्नतिमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर