चेतनाको अभावमा अल्झिरहेको जीवन

भौतिकवादलाई नै जीवनको मुख्य ध्येय बनेर यसैको वरिपरि रुँघेर जीवन अर्पण गर्नेहरू पनि अन्तत्वोगत्वा सारमा सफल देखिएनन् । भौतिक रूपमा सम्पन्न हुनु नै सफल जीवन हो भन्नेहरू समयानुकूलसँगै नैराश्यतर्फ उन्मुख देखिए । सामाजिक जीवनमा असामाजिक तत्वहरूले चेतनामा नै बिर्को लगाइदिए ।
सफलताको मापन भौतिकवादमा खोजिरहेका हामीहरू पूर्णतामा जीवन अर्पण गर्यौं । त्यो पूर्णता भौतिकवादमा मात्र खोजियो, तर त्यो कदापि सम्भव छैन भन्ने हेक्का राख्न सकेनौं । सामाजिक होस् वा राजनैतिक क्षेत्र, चेतनाको अभावमा धेरै कर्म गरेकाहरूको इतिहास हेर्ने हो भने सहज देखिएन । यही भीडमा भिड्नेहरूको संख्या नगण्य भए तापनि सारमा यसको अन्तर्वस्तु खोज्ने हिम्मत भने कमैमा मात्र देखियो ।
वस्तु वा व्यक्ति होस् वा समाज, त्यसलाई हेर्ने दृष्टिकोणमा असमानता पाइन्छ । यसमा मुख्यगरी व्यक्तिको चेतनामा निर्भर रहन्छ । चेतनाको स्तरसँगै वस्तु र व्यक्तिमा हेर्ने, धारणा बनाउने गरिन्छ । त्योसँगै लागू गर्ने परिपाटी हुन्छ, तर सारमा हेर्दा नेपाली समाजको चरित्र हेर्ने हो भने भौतिकवादलाई नै प्रधान मान्नेहरू देखिन्छ । यो चेतनाको दृष्टिदोष त हो नै, मानव जीवनको कमजोरी पनि यही हो ।
जीवनको आवश्यकता के हो ? जीवनको सार के हो ? जीवनमा शान्ति कसरी मिल्छ भन्ने कुराको ज्ञान सायद सबैमा हुन्थ्यो भने समाज यति धेरै अराजक बन्ने थिएन । समाज यति धेरै अशान्त बन्ने थिएन । समाजमा सबैमा समान चेतनाको विकास भएन, यसको विभिन्न पाटाहरू सतहमा देखिन्छन् । यद्यपि सामाजिक अगुवाहरू समाज परिवर्तनका कति संवाहक बने ? त्यो खोजको विषय बन्नुपर्दछ । जबसम्म यसको विषयमा छलफल हुँदैन, तबसम्म मानव जीवनले भोग्ने भनेको अराजकता नै हो, जुन हामीले भोगिरहेका छौं ।
सामाजिक होस् वा राजनैतिक क्षेत्र, चेतनाको अभावमा धेरै कर्म गरेकाहरूको इतिहास हेर्ने हो भने सहज देखिएन । यही भीडमा भिड्नेहरूको संख्या नगण्य भए तापनि सारमा यसको अन्तर्वस्तु खोज्ने हिम्मत भने कमैमा मात्र देखियो ।
प्राप्तिमा उपलब्धि खोज्नेहरूले चेतनाको मूल्य सोच्न सक्दैन । समाज यस्तो बन्यो कि आर्थिक रूपमा सम्पन्न हुनेहरू नै यो समाजको सबैभन्दा ठूलो सफल व्यक्ति हुन् । यही गलत सोचको विकास हाम्रो मस्तिष्कमा नराम्रोसँग जरा गाडेर बसेका छन् । जोसँग भौतिकवादउन्मुख सोच छ, ऊ सफल होइन, जो सफल हो, ऊसँग भौतिकवाद देखिँदैन । भौतिकवादलाई सर्वस्व सोच्नेहरू समाजमा अराजकता र अशान्ति मच्चाउन उद्यत रहेको पाइन्छ ।
मानव जीवनको मुख्य सार के हो ? यसमा कसैको चिन्तन पाइँदैन । जो चिन्तन गर्दछन्, उनीहरू छायाँमा परे । कसैको चिन्तन सामाजिक परिवर्तनका भए तापनि त्यो पूर्ण हुन पाएन । समाजमा चिन्तन गर्नेहरू अपहेलित बने, किनकि उनीहरूसँग समाजलाई देखाउन सकिने भौतिकवाद थिएन । जोसँग देखाउने सम्पत्ति रहँदैन, उनीहरू समाजका दरिद्र हुन् भन्ने भाष्य बनिदियो ।
देखासिकीका नाममा गलत क्रियाकलाप गर्नेहरू असंख्य बनिदिए । आफ्नो धरातल सोच्नेहरू कमै देखिए । सम्पन्नतामा रम्नेहरूले यथार्थमा बाँच्ने हिम्मत गरेनन् । क्षितिजमा पुग्ने लक्ष्य राख्नेहरूले आफ्ना पाइला कहाँ छन् भन्ने सोच्न सकेनन् ।
महत्वाकांक्षाले गाँजेको जीवन अन्तत्वोगत्वा जीवनको सारमा नपुगी हराउने निश्चित छ । फर्केर हेर्दा गरिएका कर्महरू आफ्नै नजरमा गलत नदेखिए तापनि सारमा गलत सावित भएको आभास भएको छ । बढ्दै गएको उमेरसँगै आउने सोचहरू पनि फर्कन नसक्ने अवस्थामा आएर ज्ञात हुने रहेछ । जुन समय राम्रो थियो, त्यही समयमा राम्रो समयको परिकल्पनामा अनाहकमा व्यतित भएछन् । प्राप्तिलाई मात्र जीवन ठान्ने सोचमा प्राप्तिको ज्ञानको हेक्का हुन सकेन ।
चेतनाको स्तरसँगै वस्तु र व्यक्तिमा हेर्ने, धारणा बनाउने गरिन्छ । त्योसँगै लागू गर्ने परिपाटी हुन्छ, तर सारमा हेर्दा नेपाली समाजको चरित्र हेर्ने हो भने भौतिकवादलाई नै प्रधान मान्नेहरू देखिन्छ । यो चेतनाको दृष्टिदोष त हो नै, मानव जीवनको कमजोरी पनि यही हो ।
टार्ने र सार्नेमा अभ्यस्त बनेका सोचहरू दुःखमा क्षणिक मात्र आभास भए । हावाको गतिसँगै आभास भएका सोचहरू पुनः टार्न र सार्नमा नै लागे । यहीबीचमा सपना र कल्पना भने कतिकति ! कर्ममा भन्दा महत्वाकांक्षामा रम्न अभ्यस्त बनेका सोचहरु अन्त्वत्वोगत्वा पूरा हुन नसकिने क्षणमा मात्र महसुस भए, जुन पल फर्कन सक्ने थिएन ।
न टाल्न सकिने न त फर्कने सकिने ! यो बीचमा आएको सोचको के नै अर्थ छ र ? गल्तीको आभासको के नै अर्थ छ र ? केही सहज परिवेशमा फेरि पनि ठूल्ठूला सोच्ने नैतिकहीन आधार भने बग्रेल्ती मडारिरहे ।
आभासको प्रत्याभूति पनि अनेक, त्यही आभास समयमा सोच्न सकेको भए, मानव जातिहरू यति धेरै दुःखी हुने थिएनन्, जीवनप्रति नैराश्य उत्पन्न हुने थिएन । उपयोगवादको चर्को उदाहरण पटकपटक जीवनमा प्रयोग भए । उपयोग गर्नेहरूको भीडमा यथार्थ बुझ्न खोज्नेहरू लापता बने ।
प्रकृतिको नियम नबुझ्ने सामान्य प्रयासमात्र गरेको भए तापनि यति धेरै विचारहरूले प्रश्रय पाउन सक्ने थिएन । जुन विचारहरू जीवन दुखाउने हुन् । बिहानै झिसमिसेमा हुने सूर्योदयलाई हेरेर रम्नेहरू सूर्यास्तको अर्थ खोज्ने हिम्मत गरेनन् । भएको यत्तिमात्र हो ।
क्रान्तिकारी पनि कति कति ? हिजोको क्रान्तिकारिता आज निरीहमा प्रकट भएर जीवनलाई जिस्क्याइरहेका छन् । त्यो निरीहलाई जित्ने हिम्मत अब जीवनमा छैन । विगतको घटनाक्रम नजरको वरिपरि घुमेर रसाइरहँदा पुछ्ने हिम्मत यी थकित हात र शरीरमा रहेन ।
सोच्दैछु विगत, तर वर्तमानलाई सपार्न सक्ने हैसियत रहेन । यही समयमा आएको सोचले इतिहासको पुनरावृत्ति खोजिरहेको छ । आशा पनि अनेक, नयनको पर्खाइ पनि अनेक, फेरि पनि अर्को महत्वाकांक्षाको जञ्जालमा फस्ने सुरमा ।
धन दौलत र पद प्रतिष्ठालाई महत्व दिने समाजले नै समाजलाई अशान्ति र अराजकतातिर धकेलिरहेको छ।