शिखर नगरको वडामा नियमित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

डोटी । डोटीको शिखर नगरपालिका वडा नं. १ को कपल्लेकी स्वास्थ्य चौकीमा महिनाको दुई दिन निशुल्क बिशेषज्ञ स्वास्थ शिबिर चल्ने भएको छ । प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार स्वास्थ्य शिविर सञ्चालन हुने वडाध्यक्ष दिपक बोगटीले जानकारी दिए ।
शिविरबारे जानकारी गराउन बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा वडाध्यक्ष वोगटीले शैलेश्वरी अस्पताल प्रालि र वडा कार्यालयको साझेदारीमा शिविर सञ्चालन हुने वताए ।
उनका अनुसार शिविरमा औषधीको प्रवन्ध वडा कार्यालयले व्यवस्था गर्ने र चिकित्सक तथा अन्य उपकरण शैलेश्वरी अस्पतालले व्यवस्था गर्नेछ । औषधीको लागि ’मेरो माइक्रो फाइनान्स’ ले वडा कार्यालयलाई सहयोग गर्ने बोगटीको भनाई छ ।
सार्वजनिक निकायको सामाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले उक्त शिविरमा सहयोग गर्न लागेको बताउँछन् शैलेश्वरी अस्पतालका प्रबन्ध निर्देशक आइ जङ्ग कुँवर । उनले शिविरमा एक्स–रे, भिडियो एक्सरे, इसिजी र प्रयोगशाला सेवा प्रदान गरिने वताए । शिविरमा सबै सेवा निशुल्क हुने उनी बताउछन् ।
‘१५ दिनमा एक पटक शिविर भएपछि बिरामीलाई फलो अप चेकजाँच गर्न पनि सहज हुनेछ’, कुँवरले भने, ‘शिविर फागुन पहिलो शनिबारदेखि सुरु जेठको तेस्रो शनिवारसम्म सञ्चालन हुनेछ ।’
स्वास्थ्य समस्या भएका ब्यक्तिहरुहरुलाई स्थानीयस्तरमै बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नियमित शिविर सञ्चालन गर्न लागिएको कपल्लेकी स्वास्थ्य चौकीका इन्चार्ज पुर्णानन्द भट्टले जानकारी दिए । उनले शिविरका लागि भौतिक सामग्री र जनशक्ति स्वास्थ्य चौकीले उपलब्ध गराउने वताए ।
शिविर सञ्चालनका लागि स्वास्थ्य चौकीका इन्चार्ज भट्ट र शैलेश्वरी अस्पतालका प्रबन्ध निर्देशक कुँवरले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।