ठमेलमा प्रहरी कुटिएको घटनामा संसदीय छानबिन गर्न अनेरास्ववियुको चुनौती


काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मी कुटिएको घटनामा संसदीय छानबिन गर्न चुनौती दिएको छ ।
अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै संगठनलाई जोडेर बदनाम गर्न खोजिएको भन्दै सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेका छन् ।
विज्ञप्तिमा संसद्मा अनेरास्ववियु र सदस्यमाथि आशंका उब्जाउने गरी अनर्गल प्रचार गरिएको भन्दै ती सांसदलाई संसदीय समिति गठन गरी सत्यतथ्य अध्ययन गर्न चुनौती दिइएको छ।
उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्नेमा संगठन स्पष्ट रहेको अध्यक्ष बडालको भनाई छ ।
‘तथापि, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्रीमार्फत अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको देखिएकोमा यस्ता गलत प्रचारबाजीको अनेरास्ववियु घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण भएको थियो ।
आइतबार मात्रै प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।