फागुन ६ देखि १८ गते सम्म तेस्रो दोलखा महोत्सव हुँदै


काठमाडौं । दोलखा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा फागुन ६ गतेदेखि १८ गतेसम्म १३ दिने तेस्रो बृहत् दोलखा महोत्सव-२०८१ हुने भएको छ ।
दोलखा जिल्लाको खस्किँदो व्यापार, व्यवसाय र सुनसान बजारलाई चलायमान बनाउन र जिल्लाको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्र, पौराणिक भेसभुसा, खानाको परीकार, रैथाने उत्पादन, कृषिजन्य, खनिज जन्य तथा वनजन्य उद्योगी व्यवसायीबाट उत्पादित वस्तुहरू यस महोत्सवमा बिक्री-वितरण, प्रदर्शनी तथा परिकार प्रदर्शन गरी प्रचार प्रसार गर्ने मुख्य उद्देश्य दोलखा महोत्सव- २०८१ हुन गएको आयोजकले जनाएको छ ।
जिल्लाका उद्यमीहरूबाट उत्पादित बस्तुहरूको प्रदर्शनी, बजारीकरण र बिक्री गरी जिल्लाको आर्थिक कारोबारलाई क्रियाशील गराउने, दिगो आर्थिक विकासबारे सरोकारवालाहरू बीच साझा धारणा र तत्परता विकास गर्ने, साथै दिगो आर्थिक विकासको लक्ष्यमा संघको संस्थागत क्षमता विकास गर्ने दोलखा उद्योग वाणिज्य संघको मुख्य उद्देश्य रहेको छ ।
महोत्सवको आकर्षणहरू:
जिल्लाका समग्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक झाँकीहरूको प्रदर्शनी
राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति
स्थानीय उत्पादन तथा जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलहरूको डिजिटल डिस्प्लेमार्फत वृत्तचित्र प्रदर्शनी
महोत्सव स्थलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचढी सञ्चालन
बालबालिकाका लागि आकर्षक खेलहरू सञ्चालन
बागमती प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिता
विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना
क्याम्पस स्तरीय नृत्य प्रतियोगिता आयोजना
विभिन्न खेलकुद प्रतियोगिता
उत्कृष्ट कृषक तथा उद्यमी सम्मान तथा पुरस्कार वितरण