मेयरका छोराले मार्ने धम्की दिएको भन्दै विदेह नगरपालिकाका प्रशासकीय अधिकृतले गुहारे सिडिओ – Nepal Press

मेयरका छोराले मार्ने धम्की दिएको भन्दै विदेह नगरपालिकाका प्रशासकीय अधिकृतले गुहारे सिडिओ

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र उनका छोरा रामभजन दास गुण्डागर्दीमा उत्रेको आरोप प्रशासकीय अधिकृतले लगाएका छन् । । मेयर र उनका छोराबाटै प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र साह असुरक्षित बनेका हुन् ।

एक शिक्षकलाई हाजिर गराएकै निहुँमा अधिकृत साहलाई मेयरका छोरा रामभजनले कार्यकक्षमै कुटेका थिए । पछि मेयर बेचन पुग्दा गोली मार्ने धम्की दिएको अधिकृत साहले आरोप लगाएका छन् ।

अधिकृत साह मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा मेयर र उनका छोराविरुद्ध उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । साहले आइतबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया समक्ष उजुरी दिँदै कुटपिट गर्ने मेयरका छोरा र धम्की दिने मेयरलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

अधिकृत साहले आफ्नो सुरक्षाको माग पनि गरेका हुन् । उनले दुई प्रहरी र वडाध्यक्ष राजकिशोर सिंहको उपस्थितिमा मङ्गलवार मेयर दासले गोली हान्ने धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा अर्को व्यवस्था नहुन्जेलसम्म सुरक्षा साथ काम गर्ने वातावरण मिलाउन अनुरोध छ ।’

शिक्षक सेवा आयोगबाट सिफारिस भएकी निमावि सामाजिक शिक्षक पवन कुमारी विदेह नगरपालिका पुगेकी थिइन् । मेयर नगरपालिकामा नरहेको बेला अधिकृत साहले उनलाई हाजिर गराए । सोही विषयलाई लिएर ‘तैँले किन हाजिर गराइस् ?’ भन्दै मेयरका छोराले अधिकृत साहलाई कार्यकक्षमै कुटपिट गरेको बताइएको छ ।

नेपाल प्रेसको जिज्ञासामा अधिकृत साहले भने, ‘एक शिक्षिकालाई हाजिर गराएकै निहुँमा मेयरका छोराले मलाई कुटपिट गर्‍यो । मेयर आएपछि प्रहरीकै सामुन्ने गोली मारिदिने धम्की दिनुभयो । म प्रशासनसँग सुरक्षा माग गरेको छु । म परेशानीमा छु, अहिले धेरै बोल्न सक्दिनँ ।’

मेरो छोरालाई ‘हु आर यू’ भनेपछि विवाद भयो मेयर

मेयर दासले शिक्षिकालाई हाजिर गराएको विषयमा मेरो छोराले बुझ्न जाँदा अधिकृत साहले ‘हु आर यू’ भनेपछि विवाद भएको बताए । उनले अधिकृतलाई कुटेको कुरा गलत रहेका जिकिर गरे ।

उनले नेपाल प्रेससँग भने, ‘यहाँ सामाजिक शिक्षकको दरबन्दी छैन । कतै हाजिर गर्न नदिएपछि यहाँ आएकी थिइन् । पहिले निर्णय त म लिन्छु नि । शिक्षा शाखासँग सोध्दा खाली नरहेको भनी हाजिर गराउन नसक्ने भन्यो । तर अधिकृतले आफूखुसी हाजिर गराउन मिल्छ ?’

‘मेरो छोराले शिक्षिकासँग तत्काल निवेदन लिन भनेका थिए । सात दिनको म्याद हुन्छ । बुवा आएपछि छलफल गर्नुहोला भनेर अधिकृतलाई भनेपछि मानेनन्’, मेयर बेचनले भने, ‘मेरो छोरालाई हु आर यू रु भन्दै अधिकृतले टेबल ठोकेर गाली गर्न थाले । अनि डिग्री पढेकाले त जरुर केहि गर्छ । त्यही भयो ।’

अधिकृत साह नगरपालिकामा हाजिर भएको मात्र २६ दिन भएको छ । घटनापछि काममा असन्तुष्टि जनाउँदै नगरपालिकाले मन्त्रालयमा पत्र समेत पठाइसकेको छ । मेयर बेचनले हिजो मात्रै बोर्डको निर्णय गरेर मन्त्रालयमा पठाएको जानकारी दिए । अर्को अधिकृत पठाउन मन्त्रालयसँग माग गरेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *