नेपालमा विदेशी अपहरणकारीको कनेक्सन खोज्दै प्रहरी, जोखिममा बालबालिका (भिडिओ)

काठमाडौं । नेपाली नाबालकलाई विदेशमा बिक्री गर्ने नियतका साथ केही विदेशी नागरिक देशका विभिन्न भागमा भित्रिएको अनुमान प्रहरीले गरेको छ ।
ललितपुरमा गत साता अपहरणमा परेका एक ४ वर्षीय वालकको उद्धार गरेपछि प्रहरी यस्तो निष्कर्षमा पुगेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घटनाअनुसार एकजना फेला परे भनेर अरू छैनन् भन्ने हुँदैन, यस्ता व्यक्ति अरू पनि हुन सक्छन् । उनी भन्छन्, ‘प्रहरीले मात्रै हैन, सबैले यस बारेमा सजग हुनु जरुरी छ ।’
के हो ४ वर्षीय वालक अपहरणको घटना ?
नेपालमा भए टेकबहादुर राई, भारतमा गुरुमीत गुजमैन । तर, वास्तविक नाम माई होङ किन्हालन । देश भियतनाम । धन्दाचाहिँ सन्दिग्ध !
४ वर्षीय नाबालक अपहरण गरी भारततर्फ भाग्ने तरखर गरेका यी सन्दिग्ध भियतनामी नागरिक अहिले ललितपुर जिल्ला प्रहरी परिसरको हिरासतमा छन् ।
यी उनै व्यक्ति हुन्, जसले २४ गते बिहीबार ललितपुर– १२ पाटनबाट ४ वर्षीय जिरे भनिने पल चेपाङलाई अपहरण गरेका थिए । जिरेलाई भारततर्फ लैजाने तयारी गर्दा किन्हालन कलकीबाट पक्राउ परे, जिरेको उद्धार भयो । त्यहाँको मेची गेष्ट हाउसको कोठा नम्बर १०७ मा उनीहरू फेला परेका थिए ।
प्रहरीले उनीबाट विभिन्न कम्पनीका ३ थान मोबाइल, एउटा ल्यापटप १, भियतनामी मुद्रा, २ वटा नक्कली भारतीय आधारकार्ड, धारिलो चक्कु बरामद गरेको थियो ।
प्रहरीद्वारा पक्राउ परेपछि किन्हालनले वालकले दुःख पाएको कारण स्यहारासुसारका निम्ति लैजान खोजेको बताएका थिए । तर, प्रहरी अनुसन्धानकर्मीले यो कुरा पत्याएका छैनन् ।
एक अनुसन्धानकर्मी भन्छन्, ‘उसका हरेक गतिविधि शङ्कास्पद छन्, भनेको कुरा पत्याउने आधार छैन ।’ उनले विभिन्न नाममा भारतीय आधार कार्ड, नेपाली नागरिकता बनाउनेजस्ता काम गरेका कारण उनमाथि शंका बढेको बताए ।
उपत्यका अपराध महाशाखाको टोलीले तत्कालै एक्सनमा उत्रिएर बालकलाई उद्दार गर्ने तथा आरोपी पक्राउ गर्ने सफलता पाएका कारण कुनै दुर्घटना हुन पाएन । तर यस्ता गिरोह विभिन्न नाम वा वहानामा वरपर घुसेको हुनसक्ने भएकाले अभिभावकले पनि सचेत हुनुपर्ने महाशाखाका प्रमुख एसएसपी रमेश बस्नेत बताउँछन् ।
अपराधविद् तथा पूर्वडीआइजी हेमन्त मल्ल यो घटनालाई सामान्य मान्न नसकिने भन्छन् । उनी शंका गर्छन्, ‘कतै त्यो वालकको आमासँग कसुरदारको कुनै किसिमको सम्बन्ध त थिएन ?’ विगतमा विदेशमा रहेका बाबु, आमाबीचको असमझदारीका कारण यस्ता घटना भएको स्मरण गर्दै उनले भने, ‘एउटा भियतनामी नागरिकले त्यत्तिकै हाम्रो देशमा आएर एउटा वालकलाई किन लग्यो त ?’
तर, अहिलेको घटना त्यही प्रवृत्तिको हो भन्ने ठहर गर्न नमिल्ने उनको भनाइ छ । उनी २०४७ सालमा जिल्ला प्रहरी कार्यालय, सिराहामा कार्यरत रहँदाको घटना स्मरण गर्दै भन्छन्, ‘नेपाली बालबच्चालाई भिखारी बनाउन, लुटपाट गर्न भारत लैजान्थे, कतै यो घटना पनि त्यही त हैन ?’