के गर्दैछन् ग्रीस छिरेका ५० हजार नेपाली ? नेपाल सरकारबाट यस्तो छ अपेक्षा – Nepal Press

के गर्दैछन् ग्रीस छिरेका ५० हजार नेपाली ? नेपाल सरकारबाट यस्तो छ अपेक्षा

विदेशिनु नेपालीको बाध्यतामात्र नहोला । रहरैरहरमा विदेशिएकाहरू धेरै भेटेको छु मैले । म विगत एक वर्षअघि वैदेशिक रोजगारीको क्रममा रोमानिया हुँदै अहिले ग्रीसमा छु । ग्रीसमा म कृषि क्षेत्रमा काम गर्दै आएको छु । यहाँका मानिसहरू कृषि क्षेत्रको कामलाई उच्च सम्मान गर्दा रहेछन् । यहाँ आएर कृषिमै काम गरेपछि वास्तवमा कृषि प्रधान देश नेपालभन्दा पनि ग्रीस चाहिँ हो भन्ने लाग्यो । अझ चाखलाग्दो कुरो त नेपालमा सामाजिक सुरक्षा भत्ता लिएर/बुझेर बस्ने उमेरका ज्येष्ठ नागरिकहरू यहाँ सजिलैसँग कृषिमा काम गरिरहेका भेटिने रहेछन् ।

कतै हामीले भत्ता दिएर नागरिकलाई अल्छी त बनाइरहेका छैनौं भन्ने पनि मलाई लाग्यो । यहाँका ज्येष्ठ नागरिकले काम गर्ने कारण शरीरलाई आवश्यक व्यायाम मिल्छ र शरीर स्वस्थ हुन्छ भन्ने आमधारणा हुने गरेको पाएँ । यस देशमा कृषि क्षेत्रको कामको लागि यहाँको सरकारले आवश्यक सडक, बिजुलीबत्ती, सिंचाइका लागि पानी, कृषि उपकरणहरू सजिलै उपलब्ध गराउने तथा थोरै शुल्क राखी अनुदानमा दिने गरेको रहेछ ।

यस देशको जनसंख्या लगभग १ करोडमात्र रहेकाले काम गर्ने जनशक्तिको अभाव रहेको देखिन्छ । अन्य देशहरूबाट कानूनी रुपमा आउनेभन्दा पनि गैरकानूनी रुपमा विभिन्न देशहरूबाट यस देशमा श्रमिकको रुपमा आउनेहरूको सङ्ख्या धेरै गुणा बढी रहेको देखिन्छ ।

यहाँ आएर कृषिमै काम गरेपछि वास्तवमा कृषि प्रधान देश नेपालभन्दा पनि ग्रीस चाहिँ हो भन्ने लाग्यो । अझ चाखलाग्दो कुरो त नेपालमा सामाजिक सुरक्षा भत्ता लिएर/बुझेर बस्ने उमेरका ज्येष्ठ नागरिकहरू यहाँ सजिलैसँग कृषिमा काम गरिरहेका भेटिने रहेछन् ।

श्रमको मूल्य प्रतिघन्टा ५ युरो सालाखाला नेपाली ७०० रुपैयाँभन्दा माथि पाउने भएका कारणले पनि कानूनी रुपमा आएको पहिलो देशबाट गैरकानूनी रुपमा यस देशमा आई काम गरिबस्नेहरूको संख्या दिनानुदिन बढ्दो क्रममा छ । उदाहरणका लागि म कानूनी रुपमा नेपालबाट रोमानिया श्रम स्वीकृति लिएर आएँ, तर ग्रीसमा गैरकानूनी रुपमा छिरेँ ।

खास तथ्यांक नभए पनि लगभग ५० हजारको संख्यामा नेपाली श्रमिक यस देशका विभिन्न स्थानहरूमा काम गर्दै आएको यहाँ लामो समय काम गर्दै आएका व्यक्तिहरूले भन्ने गरेका छन् । जसमा कानूनी तरिकाबाट आउने ५ प्रतिशत हुन सक्छ भने बाँकी ९५ प्रतिशत गैरकानूनी तरिकाबाट आउनेहरू रहेको अनुमान छ । यहाँ अधिकांश नेपालीहरू कृषि क्षेत्रमा काम गर्छन् । स्ट्रबेरी, टमाटर, जुनार, सुन्तला, आलु, प्याज, अङ्गुर, स्याउ जस्ता फलफूल टिप्ने, जैतुन (अचार खाने साथै तेल निकाल्ने) झार्ने जस्ता काम गर्ने ठाउँमा उनीहरू भेटिन्छन् ।

अवैध कामदारलाई गाउँघरमा भेटे भने एकाध प्रहरीले- जो उदारमन भएका हुन्छन्- तिनीहरूले छोडिदिन्छन् । नत्र सीधा नेपाल डिपोर्ट गरिदिन्छ या जुन देशबाट ग्रीस आएको हो, त्यही देशमा फर्काईदिन्छ । यहाँ रहेका करिब ५० हजारमध्ये ३५ प्रतिशत जति नेपाली महिला होलान् । महिलापुरुष दुबैथरीले दलालहरूलाई मोटो रकम ४ देखि ७ लाख बुझाएर यहाँ आएर काम गर्ने गर्छन् । यहाँ सरदर डेढ लाखदेखि २ लाखसम्म मासिक कमाइ गर्छन् नेपालीहरूले ।

यहाँ रहेका करिब ५० हजारमध्ये ३५ प्रतिशत जति नेपाली महिला होलान् । महिलापुरुष दुबैथरीले दलालहरूलाई मोटो रकम ४ देखि ७ लाख बुझाएर यहाँ आएर काम गर्ने गर्छन् ।

यस देशमा रहेका युवा जनशक्तिले यहाँ सिञ्चित गरेको पसिनाको थोपाथोपा पसिना नेपाल सरकारसम्म रेमिट्यान्सको रुपमा पुर्‍याइ आर्थिक अर्थतन्त्र धान्न केही टेवा पुर्‍याएको स्वीकार्न ढिला नगरौं । झण्डै दुई तिहाइ मतसहित बनेको हालको नेपाल सरकारले लगभग ५० हजार संख्यामा गैरकानूनी रुपमा रहेका नेपाली श्रमिकलाई कानूनी रुपमा बदल्न/वैधानिक बनाउन हदैसम्मको लचकता अपनाएर ग्रीस सरकारसँग प्रक्रिया अघि बढाउन सक्छ ।

यो सरकारले यति काम गरेमा त्यसको जस पनि पाउने, यहाँ कार्यरत श्रमिकहरूले ब्यक्तिगत साथै सरकारलाई आर्थिक उन्नतिमा पनि लैजान साथ दिने, स्वदेश फर्केपश्चात् सिकेका नयाँ तरिकाका केही सीपको पनि सदुपयोग हुनेछ । यसबाट दुई देशबीच प्रगाढ रुपमा सम्बन्ध पनि अझ फराकिलो हुने, प्रशासनको आँखामा लुकिछिपी रहेका आमनेपाली श्रमिक सार्वजनिक रुपमा खुलेर रम्ने, रमाउने र काम गर्ने जस्ता कार्य हुने थियो भन्ने यहाँ रहेका अधिकांश नेपालीहरूको भनाइ छ ।

ग्रीसमा गैरकानूनी रूपमा रहँदै आएका लगभग ५० हजार नेपाली श्रमिकको एउटै आवाज यस देशमा वैधानिक रुपमा रहन सक्ने/मिल्ने, घर(नेपाल) आवतजावत गर्न सक्ने, म्याद सकिएका र हराएका पासपोर्ट सजिलै बनाउन मिल्ने जस्ता वातावरण बनाउन नेपाल सरकारले छिट्टै प्रक्रिया अगाडि बढाई देओस् भनी विनम्र अनुरोध छ । हामीमा विश्वास छ, नेपाल सरकारले यो काम गर्नसक्छ र छिट्टै गर्नेछ ।

(लिखु तामाकोशी- ४ बिजुलीकोट कल्लेरी रामेछाप निवासी योगी हाल ग्रीसमा कार्यरत छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *