‘जात्रा’ बनाउँदा जात्रै भयाे
निर्देशक प्रदीप भट्टराई भन्छन्- ‘हरेक फिल्म बनाउँदा ५ किलो घटेको हुन्छु’

काठमाडौं । दश वर्ष अगाडिको एक दिन प्रदीप भट्टराईलाई सिङ्गे लामाले प्रेम दर्शाए, ‘कस्ता कस्ता मान्छेले त फिल्म बनाइसके प्रदीप सर, तपाईं नबनाउने ?’
भट्टराईले लामाको सवाललाई उस्तो गम्भीर रुपमा लिएनन् । लिऊन् पनि कसरी ? भट्टराईले लामामा पैसा लगानी गर्नसक्ने तागत देखेका थिएनन् । आर्ट डाइरेक्टरसँग लाखौं हुन्छ भन्ने कल्पना गरून् पनि कसरी !
मह सञ्चारमा लामो समयदेखि आर्ट डाइरेक्टर थिए लामा । चिफ असिस्टेन्ट डाइरेटर थिए भट्टराई । दुवैले एक-अर्काको नरनाडी राम्रैसँग छामिसकेका थिए ।
१६-१७ वर्ष त मह जोडीसँगै बिताइसकेका थिए भट्टराईले । भट्टराईले राम्रो फिल्म बनाउन सक्ने छनक चाहिँ देखाइसकेका थिए । लामालाई पनि विश्वास थियो, ‘प्रदीपले फिल्म बनाउन सक्छन् ।’
‘हरिबहादुर मदनबहादुर’, ‘आमा’, ‘सृष्टि’ जस्ता नामी टेलिसिरियलमा असिस्ट गरिसकेका थिए । बितेको डेढ दशकमा भट्टराईले बोकिहिँडेको एउटा भ्रमको निवारण पनि भइसकेको थियो ।
सुरुवाती चरणमा उनी सोच्थे, ‘यिनीहरुले भन्दा त मै राम्रो गरेर देखाइदिन्छु । फिल्म कसरी बनाउनुपर्छ, यिनीहरुलाई के थाहा छ र !’
विस्तारै समय बित्दै गयो । सृजनात्मकताको गहिराइभित्र घुस्दै घुस्दै गए । जति जति घुस्दै गए, उति उति उनलाई डर लाग्दै गयो । जति गहिराइमा पुग्थे, सृजनाको उति ठूलो क्यानभास फेला पार्थे । ती क्यानभासले थरीथरीका सृजनात्मक रङ्गहरु माग्थे । एउटा मान्छेसँग सातै रङ्गको इन्द्रेणी कहाँ हुन्छ र !
अनि पो थाहा पाए, ‘एउटा असल सृजना बन्न सयौंथरी मान्छेका सयौंथरी रङ्ग चाहिन्छ ।’ विस्तारै आफैंले आफैंलाई सम्झाउँदै गए, ‘मेरो सोच गलत रहेछ, मैले अझै सिक्नुपर्ने रहेछ ।’
तर भट्टराई सामुन्ने जहिल्यै एउटा प्रश्न उभिइरहन्थ्यो, फिल्म निर्देशन गर्नलाई कतिञ्जेल सिकिरहने त ? यसको ठ्याक्कै चित्तबुझ्दो जवाफ उनीसित थिएन । फिल्म निर्देशन गर्ने चाहनालाई आफ्नै मनको कुनाभित्र थुनिरहेका थिए ।
लामाले त्यही मनमा ढकढकाइदिएका थिए । कतै सपना मारिसके कि भनेर उनलाई चिमोटिरहन्थे लामा । जहिल्यै सोध्थे, ‘तपाईं फिल्म नबनाउने प्रदीप सर ?’
प्रदीप सोच्थे, ‘अलि दह्रो मान्छेले भनेको भए पनि हुन्थ्यो । बिचरा सिङ्गे दाइ ! माया त गर्छन् नि, मायाले मात्रै फिल्म बन्दैन ।’
लामासँग पनि आँट र हिम्मतबाहेक केही थिएन । लामासँग पनि भट्टराईमाथिको भरोसा र विश्वासबाहेक केही थिएन । तैपनि सोध्न छाड्दैनथे, सोधिरहन्थे ।
लगातार सोधिरहेपछि भट्टराईले प्रतिप्रश्न गरे, ‘ल दाइ भन्नु न त, कसरी बनाउने ?’
‘यसो गरौं न मसँग दुईतीन लाख छ । कोटेश्वरमा मैले रासन पसल चिनेको छ । सुटिङभरिका लागि त्यहाँबाट रासन ल्याउँला । गाडी पनि खोजौंला । क्यामेरा छँदैछ’, लामाले आत्मविश्वासका साथ भने, ‘थप १०-१५ लाख हाल्ने एउटा निर्माता खोजौं । फिल्म बनिहाल्छ नि !’
लामाको तर्कले प्रदीपलाई हल्का आँट आयो । ऊसँग पहिल्यैदेखि दुईतीन वटा आइडिया ब्याकअपमा थियो । तीमध्ये एक आइडियामा स्क्रिप्ट लेख्न थाले ।
‘स्क्रिप्ट त झुरै लेख्नुभएछ’
स्क्रिप्ट लेखिसके । अनि स्क्रिप्ट सुनाउन बसे । सुन्नेहरु तिनै थिए, जो डेढदुई दशकमा कमाएको ज्ञान, सीप, अनुभव र पैसा खन्याउन तयार थिए । प्रोडक्सन म्यानेजर यादव पौडेल स्रोताको रुपमा हाजिर थिए । कथा सुनिसकेपछि पौडेलले भने, ‘ल म पनि पैसा हाल्छु । मसँग पाँचसात लाख रुपैयाँ छ ।’
पौडेल पनि थपिएपछि भट्टराईमा आत्मविश्वास पलायो, ‘अब फिल्म बन्ने भयो ।’
कलाकार पनि फाइनल भयो, विपीन कार्की, रवीन्द्रमानसिंह बानियाँ, सारुक ताम्राकार, अभय बराल र विक्रम थारु । फिल्म पाँच जना हिरोको कथामा आधारित थियो । कथा राम्रो लागेपछि बानियाँले रहर देखाए, ‘म त निर्माता पनि हुन पाए हुन्थ्यो ।’
अनि रवीन्द्र पनि निर्माताको सूचीमा थपिए ।
फिल्मको नाम रह्यो, ‘जात्रा ।’
कथा सुनेर मान्छे पेट मिचीमची हाँस्थे । कथा सुनेरै रुन्थे पनि । भटटराईलाई लागिरहेथ्यो, फिल्म त बब्बालै बन्छ । प्रि-प्रोडक्सनको वेला बानियाँले भट्टराईलाई खुसुक्क भने, ‘मनोज पण्डितलाई एक पटक स्क्रिप्ट पढ्न दिम न त !’
प्रदीपको पण्डितसँग चिनापर्ची थिएन । तैपनि भनिदिए, ‘हुन्छ, दिउँ न त ।’
पण्डितले स्क्रिप्ट लिए ।
केही दिनपछि बानियाँले भट्टराईलाई खाना खाने गरी आउन अनुरोध गरे । थप भने, ‘मनोजजीले भेट्न खोजेका छन् ।’
बानियाँको घरमा मिटिङ हुने भयो । भट्टराई फुरुङ्ग भए । सोचे, पक्कै गजब लेख्नुभएछ भन्लान् । तीनै जना भेला भए । सलाद खाए । पण्डितले सोधे, ‘अनि खाना खाएर कुरा गर्ने कि अहिले नै गर्ने ?’
मनमनै फुरुङ्ग भएका भट्टराईले भने, ‘अहिले नै गरौं न । राम्रो कुरामा किन ढिला गर्ने !’
पण्डितले भने, ‘तपाईंले लामो समय मह सञ्चारमा काम गर्नुभएको रहेछ, तर स्क्रिप्ट चाहिँ झुर लेख्नुभएछ ।’
अब ‘जात्रा’ हुन्छ
बीसौं मान्छेले राम्रो भनेको स्क्रिप्टलाई पण्डितले झुर भनिदिए । अघिसम्म उत्साहित भइरहेका भट्टराईको मन मरिचभन्दा सानो बनेर चाउरियो । अनुहारमा छरपस्टिएको खुसीको आभा फुंग उड्यो । मौसम बदली भए जस्तो अचानक अनुहार कालोमैलो भयो । किन झुर ? के कारणले झुर ? कसरी झुर ?
पण्डितले केही प्रश्न गरे । भट्टराईले उत्तर दिए ।
तैपनि यति राम्रो चिज कसरी गलत हुन्छ ? भट्टराईको पारो तात्यो । बानियाँले खुसुक्क फकाए, ‘अहिले यिनको कुरा सुनेर स्क्रिप्ट करेक्सन गरौं । राम्रो भएन भने हाम्रो पुरानै छँदैछ नि ।’
भट्टराई स्क्रिप्ट करेक्सन गर्न तयार भए । करेक्सन गरेर पण्डितलाई देखाए । पण्डितले झनै बिगारिदिन्थे । बनाउने, बिगार्ने क्रम निरन्तर जसो चलेपछि भट्टराई निराश भए, ‘यसरी त हुँदैन ।’ पण्डित चाहिँ निरन्तर भनिरहे, ‘यो त जात्रा नै भएन ।’
कसरी ‘जात्रा’ भएन त ? कारण नभनिदिने । खाली ‘यो भएन, त्यो भएन’ मात्रै भनिरहने । भट्टराईलई रिस उठ्यो, ‘यस्तो त जसले पनि भन्छ नि !’
रिस नै उठे पनि पण्डितबाट केही न केही सिकिरहेका थिए । केही जानकारी लिइरहेका थिए । अति भएपछि भट्टराईले आफूसँग भएको अर्को एउटा कथा पण्डितलाई सुनाए–
असनको एउटा ठाउँमा तीन जना पसले छन् । पसलेहरुको व्यापार राम्रै चलिरहेको थियो, तर भुईंचालोले बिथोल्यो । भुईंचालोपछि मान्छेहरु गल्लीमा छिर्नै छाडे । पहिलेदेखि नै दैनिकी चलाउन गाह्रो भइरहेका केटाहरुलाई गाह्रो भयो । उनीहरुसँग सबथोक छ, तर पैसा छैन । अलिकति पैसा भए हुन्थ्यो भन्ने कल्पना गरेरै दिन कटाउँछन् । अनि पैसामात्रै सोचिरहेका केटाहरुले अचानक दश किलो सुन भेट्टाए भने हुन्छ ?
जब कथा सुनाइसके, पण्डितले टेबल ड्यांग ठटाए । उत्साहित हुँदै बोले, ‘अब जात्रा हुन्छ ।’
पण्डित र भट्टराईले सल्लाह गरे– सुनलाई चलाउन गाह्रो हुन्छ, सुनको ठाउँमा पैसा राख्नुपर्छ ।
भट्टराई स्क्रिप्ट लेख्न बसे । १७ दिनमा स्क्रिप्ट फाइनल गरे । यति थोरै दिनमा कसरी स्क्रिप्ट फाइनल भयो त ?
नयाँ बानेश्वर चोकको उमोजा कफी सपमा हट लेमनको चुस्की लिँदै निर्देशक भट्टराई बोले, ‘१७ दिनमा कसरी लेख्न सकेँ हुँला भन्ने मलाई नै लागेको थियो । यसो विचार गर्दा त्यो १७ दिनमा लेखेको कथा मसँगको २५ औं वर्षको अनुभव थियो । १७ दिनमा फल झरेकोमात्रै रहेछ । मभित्र त्यो फलको विरुवा उम्रेर, हुर्किएर, फुलेर, चिचिला लागेर, छिप्पिएर बसेको रहेछ । किनभने जात्राका ती पात्र मैसँग जोडिएका पात्र थिए । अभावका बीच हुर्किएका, बाँचेका अनि अभावसँगै सपना देखेका पात्रहरु मसँगै २५ वर्षदेखि यात्रामा थिए ।’
‘यो त डकुमेन्ट्री फिल्म जस्तो भयो’
‘जात्रा’को नयाँ कथालाई लिएर निर्माताहरु ठीकै सन्तुष्ट थिए । भन्थे, ‘पहिलेको जस्तो त छैन, तर राम्रै छ ।’
फिल्मको सुटिङ सुरु भयो ।
अभिनेता कार्की पहिलो पटक लिड रोलमा थिए । यसअघि कार्कीको ‘विन्दु’ र ‘भस्मे डन’ पात्र हिट थियो । ‘जात्रा’मा भने फणिन्द्र नामक पात्र धेरै नै सुस्त थियो । अरुले बोलेको पनि राम्रोसँग सुन्दैन । हिँड्दा पनि विस्तारै हिँड्छ । लुसुक्क आउँछ । ‘हजुर बुवा’ भन्छ ।
पात्र देखेर निर्माताहरु डराए, ‘यस्तो पात्रले फिल्म हुन्छ त ? रिसुट गर्नुपर्छ कि क्या हो प्रदीप सर, पात्रलाई अलि उज्यालो बनाउनुपर्छ ।’
तीनचार दिन सुटिङ भइसकेको थियो । भट्टराईले भने, ‘तपाईंहरुलाई स्क्रिप्ट सुन्दा रमाइलो लागेको हो त ! पात्र सुस्त भएर फिल्म सुस्त हुँदैन । फिल्मको गति भनेको त्यसको स्क्रिनप्लेले निर्धारण गर्ने हो ।’
सँगै भट्टराईले एक उदाहरण पनि दिए, ‘मानौं, अँध्यारो कोठाभित्र खुट्टा भएको र नभएको मान्छे राखौं । अनि सर्प छाडिदिऊँ । बत्ती बालिदिऊँ । दुवैले एकै पटक सर्प देख्छन् । त्यसपछि को छिटो दौडन्छ ? बराबर नै दौडन्छन् नि !’
भट्टराईले सम्झाए, ‘पात्रलाई समस्याहरुले दौडाउने हो ।’
निर्माताहरु कन्भिन्स भए । सुटिङ सकियो । सम्पादनको काम भयो । सम्पादन हेरेर बानियाँ त कन्भिन्स भए । लामा र पौडेल कन्भिन्स हुन सकेनन् । सुटिङ सेटमै सुटिङ हेर्न आउनेहरुले पनि ‘के गर्या’ भन्थे । पोस्ट प्रोडक्सनमा काम गर्दा प्राविधिकहरुले ‘डकुमेन्ट्री फिल्म जस्तो’ भन्थे ।
यतिसम्म आइपुग्नलाई भट्टराई स्वयंले श्रीमतीको गहना राखेर पैसा चलाइसकेका थिए । थोरैथोरै पैसा खोजखाज गरेर, सबै मिलाएर बनाएका थिए । एडिटमा आइपुग्दा पनि पैसा सकियो । फिल्म बेचौं पनि बिक्दैन । डिजिटल राइटस्, ओभरसिज राइटस् पनि कसैले लिँदैनन् ।
बानियाँले भट्टराईलाई सल्लाह दिए, ‘एक पटक निश्चल बस्नेत र प्रचण्डमान श्रेष्ठलाई ट्रेलर काट्न लगाऔं ।’
बस्नेत र श्रेष्ठ आए । दुवै फिल्म क्षेत्रका स्थापित मान्छे । के भन्ने हुन् भन्ने भय भट्टराईलाई थियो । उनीहरुले फिल्म हेरे । साँझको ७-८ बजेको थियो । बस्नेतले भने, ‘भोलि फेरि एक पटक हेरौं । अनि काट्न बसौंला ।’
उनीहरु गए । भट्टराई बानेश्वर बस्थे, बाइकमा सरर कोठा आए । कोठा आएपछि फेसबुक खोलेर हेरे, बस्नेतले एउटा स्टाटस पोस्ट गरेका रैछन्, ‘अबको वर्षको ब्लकबस्टर फिल्म जात्रा आयो ।’
‘मलाई त एकदमै खुसी लाग्यो । म त नयाँ मान्छे ! उद्योगमा पहिचान बनाइसकेको मान्छेले रफ फिल्म हेरेर त्यसरी लेख्दा त..,’ भट्टराई नोस्टालजिक हुन्छन्, ‘त्यसपछि ओभरसिज लिने मान्छे पनि आए । डिजिटल राइटस् लिने मान्छे पनि आए । एउटा मान्छेको स्टाटसले त्यति धेरै फरक पार्दोरहेछ । निश्चलहरुको छाती देखेर कस्तो अचम्म लाग्यो ।’
पहिलो र अन्तिम घमण्ड
भट्टराईसँग न बजारको ज्ञान थियो न त केही कुराको जानकारी थियो । फिल्म लेख्न सक्थे । बनाउन सक्थे । ‘जात्रा’का पात्रहरु आफ्नो जीवनसँगै जोडिएकाले अलिकति भए पनि आत्मविश्वासी चाहिँ थिए ।
फिल्म ७७ लाखमा सकियो ।
हुँदाहुँदा रिलिजको मिति पनि आयो । शुक्रबारबाट फिल्म लाग्दै थियो । मंगलबार जय नेपाल हलमा प्रिमियर भयो । प्रिमियरमा भए जति मान्छे आए ।
भट्टराई सम्झन्छन्, ‘मान्छेहरु हाँसेर हल फुट्ला जस्तो भएको छ । फिल्म हेरिसकेपछि कसैले फेसबुकमा लेखेका छन् । रिभ्यु आएका छन् । समाचार आएका छन् । माहोल नै बेग्लै बन्यो ।’
फिल्मको बुकिङ पनि खुल्यो, तर टिकेट काट्ने मान्छे छैनन् । अब भोलि त आउलान्, तर भोलि पनि आएनन् । शुक्रबार बिहानसम्मै मान्छेले टिकट काटेनन् । भट्टराईले त्यही वेला थाहा पाए, ‘सेलिब्रेटीले लेखेको कुरासँग दर्शकको खासै कनेक्सन नहुँदो रहेछ ।’
शुक्रबार हलमा कतै ३२ जना, कतै ३५, कतै १४ त कतै १५ जना । शो पनि ठीकैमात्र पाएको थियो । शुक्रबार दिनभरि ठीकैमात्र चल्यो । भट्टराई सुनाउँछन्, ‘बनाउन नहुने फिल्म बनाइएछ, हामी गलत रहेछौं भन्ने सोचेँ ।’
तर फिल्मले शनिबारबाट पिकअप लियो । दर्शकको माउथ पब्लिसिटी राम्रो भएपछि शनिबारबाट हलहरु भरिन थाले । शो थपिन थाले । टिकट पाइएन भन्न थाले । अनि फिल्म चल्न थाल्यो ।
‘अनि फिल्म चल्न थालेपछि चाहिँ के लाग्यो ?’, मैले सोधेँ ।
‘मसँग एउटा आक्रोश रहेछ । धेरै मान्छेले नपत्याएको, सिनेमा भएन भनेको आक्रोश मभित्र रहेछ । त्यसको पाँच दिनपछि स्टाटस नै लेखेँ ।’
भट्टराईले फेसबुकमा स्टाटस लेखे, ‘जात्रालाई दर्शकले एकदमै मन पराउनुभएको छ । म एकदमै खुसी छु । दर्शकहरु पनि एकदमै खुसी हुनुहुन्छ, तर चलचित्रका केही पण्डितहरुलाई चाहिँ यो कुरा पचेको छैन ।’
भट्टराई सुनाउँछन्, ‘मैले सफ्ट भाषामा लेखेँ । लेखिसकेपछि कमेन्टहरु हुरुरु आउन थाले । लाइट आउन थाले । मलाई मन पराउनेहरुले ‘ठीक हो दाइ, अगाडि बढ्नु दाइ’ भनेका छन् । कसैले ‘फिल्म राम्रो भयो, लेखाइ राम्रो भएन’ भनेका छन् । कसैले ‘फिल्म चलिहाल्यो, खुसी हुनुस्’ लेखेका छन् । कतिपयले इनबक्समा ‘स्टाटस डिलेट गर्नुस्’ भनेर सुझाव दिएका छन् । विवादमा कहिल्यै नपरेको मान्छे विवादमा परेँ । दीपकराज गिरी दाइ आएर दर्शकले नै प्रुभ गरिसक्यो, यो लेख्नुको अर्थ छैन भन्नुभयो । उहाँलाई पनि गाली नै आएको छ । म त डरले लगलग काँपेँ । स्टाटस लेखेको एक घण्टा पनि भएको थिएन, हजार लाइक आइसक्यो । कमेन्ट कति हो कति ! जिन्दगीमा त्यत्रा लाइक कमेन्ट नआउने मान्छे म त ! लगभग एक घण्टापछि मैले स्टाटस डिलेट गरेँ ।’
भट्टराई थप भन्छन्, ‘पछि ठण्डा दिमागले सोचेँ, मेरो त घमण्ड बढेको रहेछ । नलेख्नुपर्ने कुरा लेखेको रहेछु । मैले जिन्दगीमा कामको लागि घमण्ड गरेको त्यो नै पहिलो र अन्तिम थियो । त्यस दिनदेखि मैले कामलाई लिएर कहिल्यै घमण्ड गरिनँ । कसैलाई देखाउनुपर्छ भनेर काम पनि गरिनँ ।’
‘हरेक फिल्म बनाउँदा ५ किलो घटेको हुन्छु’
‘जात्रा’पछि भट्टराईले ‘शत्रु गते’ निर्देशन गरे । बक्स अफिसमा फिल्मले राम्रो कमाइ गर्यो । यो फिल्म चाहिँ भट्टराईलाई कस्तो लाग्छ ?
उनी हाकाहाकी भन्छन्, ‘क्रिटिकल्ली कमजोर फिल्म हो, तर जुन उद्देश्यका लागि बनाएका थियौं, त्यसमा सफल भयौं । दर्शकलाई मनोरञ्जन दिँदै पैसा कमाउँछ भन्ने मूल उद्देश्य थियो ।’
यसपछि ‘जात्रैजात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ बनाए भट्टराईले । ‘महाजात्रा’ त पैसै कमाउनलाई बनाइएको आरोपसमेत लाग्यो । यसमा भट्टराई स्पष्ट छन्, ‘फिल्मले पैसा कमाउनु राम्रो हो । कञ्चटमा बन्दुक तेर्साएर पैसा झार्न खोजेको होइन नि त ! दर्शकले सिफारिसको आधारमा फिल्म हेर्ने हो, तर पैसा कमाउने ध्याउन्नमा कलालाई मार्नु चाहिँ हुँदैन ।’
जे होस्, भट्टराईले बनाएका फिल्महरुलाई दर्शकले रुचाइरहेका छन् । बक्स अफिसमा सफल पनि भएका छन् । अब त ‘जात्रा’मा जस्तो निर्माता पाउन पनि उनलाई गाह्रो छैन । यद्यपि पातलो मात्रामा फिल्म बनाउँछन् किन ?
भट्टराई सुनाउँछन्, ‘फिल्मको लेखन एकदमै गाह्रो हुन्छ । हरेक फिल्म बनाउँदा म पाँच केजी घटेको हुन्छु । आफूलाई चित्त नबुझेसम्म फिल्ममा काम नगरुँ भन्ने लाग्छ । मेरा लागि स्क्रिप्ट लेख्ने मान्छे भइदिए वर्षको दुइटा फिल्म बनाउँथे । यहाँ फिल्म बनाउन गाह्रो छैन, लेख्नै गाह्रो छ ।’
अन्तिममा, मान्छेहरु नाम र दामको पछाडि दौडिरहेका भेटिन्छन् । तपाईं त दुवै चिज कमाइसकेको मान्छे । यी नाम र दाम भनेको चाहिँ के रहेछ ?
भट्टराई भन्छन्, ‘नाम कमाउनु, दाम कमाउनु आफैंमा गलत चिज होइन, तर यी चिजमा जब तपाईंले मजा लिन सुरु गर्नुहुन्छ, तब यो नशा बनेर जान्छ । जब आफ्नो नामको चर्चा परिचर्चामा मजा लिन थालिन्छ, तब त्यसको नशा लाग्न सुरु गर्छ । संसार त अनित्य छ । अहिले भएको कुरा एकैछिनपछि हुँदैन । अघिल्लो सास र पछिल्लो सासमै धेरै फरक हुन्छ ।
तपाईं अहिले सफल हुनुहुन्छ होला, तर त्यो सफलता तपाईंको खुबीले मात्रै प्राप्त भएको होइन । तपाईंसँग जोडिएका हजारौं मान्छेको कारणले तपाईंको सफलता देखिएको हो । मन्दिरका जगमा हालिएका इँटा, माटाहरुले गर्दा गजुरलाई अडाउने काम गरिरहेको हुन्छ । इँटा, माटा थिएनन् भने त्यो गजुर नदेखिन सक्छ । त्यसैले म यही हो, मलाई कसैले चलाउन सक्दैन भनेर जब घमण्ड र भ्रम पालेर बस्छौं, त्यो एकैछिनमा टुट्छ । अनि त्यो भ्रममा मजा लिन थाल्यौं भने भोलि त्यसैले हामीलाई गाह्रो बनाउँछ ।
मलाई चाहिँ पहिल्यैदेखि नामको पछाडि भाग्दिनँ भन्ने लाग्थ्यो । मैले कामले गर्दा माया पाएँ होला । मैले मायालाई मायाकै ठाउँमा राखेको छु । त्यो मायालाई मैले घमण्डको रुपमा लिएँ भने त मायाले एकदमै धेरै दुःख दिन्छ ।’