नेपाली वैज्ञानिक सिग्देल चीनमा उत्कृष्ट अनुसन्धानकर्ताबाट दोस्रोपटक सम्मानित


काठमाडौं । चीनमा कार्यररत नेपाली वैज्ञानिक शालिक राम सिग्देल सम्मानित भएका छन् । चाइनिज अक्याडेमी अफ साइन्सेजको ‘इन्स्टिच्यूट अफ टीबेटन प्ल्याटउ’ले उत्कृष्ठ अनुसन्धानकर्ताको रुपमा सिग्देललाई सम्मानित गरेको हो । नेपाल प्रेससँगको कुरा गर्दै वैज्ञानिक सिग्देलले सन् २०२२ मा पनि सोही सम्मान पाएको जानकारी दिए ।
सन् २०२४ मा विश्वका विभिन्न जर्नलहरुमा खोजमुलक लेखहरु लेखेका वैज्ञानिक सिग्देलले सोहि वर्ष काठमाडौं उपत्यका क्षेत्रका बोटबिरुवाहरुको प्याकेज जानकारी भएको पुस्तक ‘प्लान्ट् अफ काठमाडौं भ्यालीः अ पिक्टोरियल गाइड’ नामक पुस्तकसमेत प्रकाशन गरेका थिए ।
उक्त पुस्तकमा १२० वनस्पति परिवारका ८८५ वटा वनस्पतिको सचित्र जानकारी राखिएको छ । जानकारीमा वनस्पतिहरूको वैज्ञानिक नाम, स्थानिय नाम, आवरणको जानकारी, फूल र फल लाग्ने समयको विवरण राखिएको छ । उनको गत वर्ष विश्व प्रसिद्ध जर्नल ‘नेचर प्लान्ट’मा पनि लेख प्रकाशित भएको थियो ।
उनको अनुसन्धान हिमाली क्षेत्रमा जलवायु परिवर्तनको कारणले वनस्पति क्षेत्रमा पारेको प्रभावको बारेमा थियो ।
सन् २०१७ मा वनस्पति विज्ञानमा विद्यावारिधि गरेका सिग्देलले नेपाल, चीन तथा हिमालयपार क्षेत्रका वनवस्पतिबारेमा विश्वस्तरीय अनुसन्धान तथा अनुसन्धानात्मक जर्नल लेखहरु प्रकाशन गरिसकेका छन् । सन २०१९ मा उनी सगरमाथा क्षेत्रमा पुगेर त्यहाँका गोबे्रसल्ला र भोजपत्रबारेमा गहिरो फिल्ड अनुसन्धान गरेका थिए ।