एडल्ट ड्रामा ‘दुःखी आत्मा’लाई ‘पीजी’ सर्टिफिकेट, कुनै दृश्य भएन काँटछाँट


काठमाडौं । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘दुःखी आत्मा’लाई चलचित्र जाँचपास समितिले ‘पीजी’ सर्टिफिकेट दिएको छ ।
यो फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो । तर, आज मात्र फिल्मको सेन्सर पास भएको छ ।
फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार, यो फिल्मको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरुबाट फिल्मको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माणपक्षले बताएको छ ।
अब, यो फिल्म हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ । निर्देशक लामाले भने, ‘हाम्रो फिल्मको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलबाजी गरिएतापनि यो फ्यामिली फिल्म हो । यसैले, हरेक वर्गका दर्शकले ढुक्कसँग फिल्म हेर्न सक्नुहुनेछ ।’
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्धि तामाङ लगायतको अभिनय छ । हिमाल कडरिया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुदिप ढकाल हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।
फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो फिल्म रिलिजमा आउँदैछ ।