वेस्टर्न क्रिकेट क्लब रूपन्देही सुपर लिग च्याम्पियन


रुपन्देही । वेस्टर्न क्रिकेट क्लबले २३औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेस्टर्नले तेस्रो पटक सुपर लिगको उपाधि हात पारेको हो ।
उपाधिसँगै वेस्टर्नले १ लाख १ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र हात पार्यो ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ४१ ओभरको खेलमा ४० ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २२५ रनको बलियो योगफल खडा गरेको थियो ।
उसका लागि नरेन साउदले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै देव खनालले ४६, सन्देश थापाले २२, रञ्जित खड्काले २१, निरकुमार गुप्ताले २० र भुवन पाण्डेले १४ रनको योगदान दिए ।
बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ५, भुवन कार्कीले २ तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले १-१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरी ३८ ओभरमा १८६ रन बनाउँदा अलआउट भयो । उसका लागि निश्चल चौधरीले ४३, भुवन कार्कीले २८, प्रज्ज्वल थापाले २३, समीर अलीले २१, अमर मिश्राले १६ र अजयकुमार चौहानले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
बलिङमा वेस्टर्नका नरेन साउदले ४, देव खनाल र सुझाव थापाले २-२ तथा सन्देश थापाले १ विकेट लिए ।
फाइनलमा अलराउन्ड प्रदर्शन गरेका नरेन साउद म्यान अफ द फाइनल भई एक हजार २०० रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा वेस्टर्नका देव खनाल म्यान अफ द सिरिज घोषित भई १५ हजार रुपैयाँ पाए ।
यस्तै वेस्टर्नका अभिशेष गौतम बेस्ट बलर, न्यू होराइजनका निश्चल ज्ञवाली बेस्ट ब्याटर र तिलोत्तमा क्रिकेट क्लबका सन्दीप यादव उदयीमान खेलाडी घोषित भए । उनीहरु तीनै जनाले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
विजेता र उपविजेता टीमलाई सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ, संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, म्याच रेफ्री समीर खान, एभरेस्ट कत्था मिलका सञ्चालक वसन्तबहादुर रोक्का क्षेत्री, जयसवाल सेवा समितिका अध्यक्ष अमित गुप्ता, संघका सचिव सञ्जय गुरुङ, कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाणलगायतले पुरस्कार वितरण गरेका थिए ।