उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश


पोखरा । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार सकिएको खेलमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० को गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले सेमिफाइनलको यात्रा तय गरेको हो ।
पहिलो हाफमा एक गोलले अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप दुई गोल थप्यो । खेलको ३८औं मिनेटमा ब्ल्याक बुल्सका इस्लोम्जन अब्दुकोडिरोभले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ७३औं मिनेटमा सयदज्मोल दब्लाजोनोभले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर बनाए ।
त्यसको दुई मिनेटमै ब्ल्याक बुल्सले अर्को गोल थप्यो । ७५औं मिनेटमा शाब्कात्जोनले डी–बक्स बाहिरबाट गोल गर्दै टोलीलाई तेब्बर अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स ३-० ले विजयी भयो ।
पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै थन्डरबोल्ट क्वाटरफाइनलमा प्रवेश गरेको थियो । दोस्रो खेलमा ब्ल्याक बुल्ससँग पराजित हुँदै थन्डरबोल्ट प्रतियोगिताबाट बाहिरिएको छ ।
योसँगै आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । ब्ल्याक बुल्ससहित नेपाल पुलिस क्लब, चर्च ब्बाइज युनाइटेड र थ्रीस्टार सेमिफाइनलमा पुगेका छन् ।
पहिलो सेमिफाइनल खेलमा भोलि नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल थ्री स्टार र ब्ल्याक बुल्सबीच बिहीबार हुनेछ ।