तीन कमजोरी औंल्याउँदै बाबुरामको आह्वान- नयाँ शक्ति निर्माण अभियानबाट अलग्गिएका पुनः जोडिऔं (पूर्णपाठ) – Nepal Press

तीन कमजोरी औंल्याउँदै बाबुरामको आह्वान- नयाँ शक्ति निर्माण अभियानबाट अलग्गिएका पुनः जोडिऔं (पूर्णपाठ)

‘घोडा चढ्ने मान्छे लडे पनि धुलो टक्टक्याएर पुनः चढ्छ र अगाडि बढ्छ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ शक्ति अभियानमा स्थापनाकालदेखि जोडिएका, तर विभिन्न कारणले पछि अलग्गिएका सबैलाई फर्किन आह्वान गरेका छन् ।

प्रथम महाधिवेशनबाट पारित ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ प्रतिवदेनमा केही बाध्यतावश र केही अदूरदर्शितावश चालिएका कदमहरूले नयाँ वैकल्पिक राजनीतिक अभियानलाई गम्भीर क्षति पु¥याएको औल्याएका छन्।

बाबुरामले औल्याएका तीन कमजोरी

पहिलो– २०७४ वैशाखदेखि असोजसम्म भएका तीन चरणका स्थानीय निर्वाचनमा अन्य पार्टीहरूको चुनाव चिन्हको प्रयोग । तत्कालीन प्रचण्ड सरकारले बदनियतपूर्ण, प्रतिशोधपूर्ण र षड्यन्त्रमूलक ढंगले नयाँ पार्टीहरूलाई चुनाव चिन्ह नदिने ऐन बनायो । विभिन्न पार्टीहरूसँग मिलेर त्यसविरुद्ध हामीले गरेको आन्दोलनलाई दबाएर उल्टै हामीलाई पुलिस हिरासतमा राख्ने हर्कतसम्म गर्‍यो । त्यो स्थितिमा हामीले पहाडमा एउटा मधेश केन्द्रित दलको चुनाव चिन्ह लिएर स्थानीय चुनाव लड्न पुग्यौं । मधेशमा अर्को एक वामपन्थी दलको चिन्ह लिएर । त्यसले पार्टीलाई अपूरणीय क्षति पु¥यायो । भर्खरै जन्मेको नयाँ पार्टीलाई मुन्टैमा निमोठ्न खोज्ने हाम्रा विरोधीहरूले आमजनतामा भ्रम छर्ने अवसर पाए । हाम्रो वैकल्पिक राजनीतिक पहिचानबारे जनमानसमा नै भ्रम प¥यो । हामीले चिर्न सकेनौं । अहिले फर्केर हेर्दा हामीले स्वीकार गर्नैपर्छ, त्यसरी कुनै क्षेत्रीय पार्टीको चुनाव चिन्ह लिनु सट्टा कि हामीले स्वतन्त्र चिन्ह लिनुपर्थ्यो कि त चुनाव लड्न हुँदैनथ्यो । त्यसको लगत्तै २०७४ को प्रतिनिधिसभा निर्वाचन निम्ति वामपन्थी दलहरूसँग गठबन्धनको प्रयासले पार्टीको छविलाई अरु धमिल्याउने काम मात्र ग¥यो ।

दोस्रो– हामीले २०७६ वैशाखमा एउटा मधेश केन्द्रित दलसँग एकता गरेर ‘समाजवादी पार्टी’ बनायौं । अनि ठीक एक वर्षपछि २०७७ वैशाखमा अर्को मधेश केन्द्रित दलसँग एकता गरेर ‘जनता समाजवादी पार्टी’ बनायौं । हाम्रो मनसाय पवित्र थियो । हिमाल, पहाड, मधेश जोडेर हामी राष्ट्रिय एकता समृद्ध गर्न चाहन्थ्यौं । एकातिर त्यो प्रयोग लामो समय टिकेन । अर्कोतिर पुरानै सोच र शैली भएकाहरूसँगको एकताले हाम्रो वैकल्पिक राजनीतिक पहिचान र स्वच्छ नैतिक छविलाई समेत प्रश्न गर्ने ठाउँमा पुर्‍याइदियो ।

तेस्रो– २०७९ असारमा ‘नेपाल समाजवादी पार्टी’ को रुपमा पुनर्गठित गरिसकेपछि २०७९ मंसिरमा भएको आमनिर्वाचनमा माओवादी केन्द्रसँग साझा चुनाव चिन्ह लिनु र निर्वाचन क्षेत्र गोरखा- २ प्रचण्डलाई छोड्नु गम्भीर गल्ती थियो । एमालेबाट अलग्गिएपछि अप्ठेरोमा परेको माके र भर्खर नेसपाको रुपमा पुनर्गठित भएको बेला अलमलमा परेका हामी बीचको हतारो निर्णयको दुष्परिणाम थियो त्यो चुनावी तालमेल । प्रचण्डलाई गोरखा- २ छोड्नु हाम्रो नेतृत्वको सदासयतापूर्ण उदारवादी कमजोरी थियो । पछि बेइमानीपूर्ण र मूल्यहीन सत्तादेखि सत्तासम्मको राजनीति गर्नेहरूले भ्रम फैलाए झैं त्यहाँ अरू कुनै अपारदर्शी समझदारी वा लेनदेन केही थिएन । हुन पनि सक्दैन । वैचारिक-राजनीतिक ढंगले माओवादी आन्दोलनको अध्याय नेपालमा पूरा भइसक्यो, अब नयाँ युगको यात्रा नयाँ ढंगले गर्नुपर्छ भनेर स्वेच्छिक र खुला रुपमा नयाँ वैकल्पिक राजनीतिक अभियानमा हिँडिसकेका हामीले आफ्नो ऐतिहासिक दायित्व बिर्सेर फेरि पछि फर्कने कुरा असम्भव र कल्पना बाहिरको कुरा हो । षड्यन्त्र र जालझेलमा पोख्त र क्रान्तिकारी निष्ठा र आदर्शबाट स्खलित भएकाहरूसँग निकट हुनुहुन्न भन्ने अमूल्य पाठ हामीले यसबाट सिकेका छौं ।

उनले कमजोरीका बाबजुद कैयौं सकारात्मक काम र अनुभव पनि भएको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘लुम्बिनी संकल्प २०७४, चिवा भन्ज्याङ-झुलाघाट मध्यपहाडी लोकमार्ग यात्रा २०७५, विद्यार्थी मोर्चाले गरेको शैक्षिक सुधार सत्याग्रह, २०८१ आदिले वैकल्पिक राजनीतिबारे राष्ट्रिय जनमत निर्माण गर्न सकारात्मक योगदान गरेको छ । सानो संख्याको उपस्थिति हुँदा पनि संघीय प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा हाम्रो पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिहरूले अरु पार्टीहरूभन्दा भिन्न, सकारात्मक र उत्कृष्ट कार्यसम्पादन गरेका छन् । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय परिघटनाहरूबारे हाम्रो वस्तुपरक विश्लेषण र प्रस्तुतिले अरुलाई समेत दिशाबोध गर्ने गरेको छ ।’

सुस्पष्ट वैचारिक-राजनीतिक दृष्टिकोण र स्वच्छ छवि वैकल्पिक राजनीतिक अभियानमा लाग्नेहरूका प्रेरणास्रोत बन्ने गरेको उल्लेख छ। संख्यात्मक ढंगले विकासको गतिमा केही मन्दता आए पनि पार्टी र वैकल्पिक राजनीतिको संगठनात्मक संजाल देशभर र प्रवासमा फैलँदै गएको दाबी गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘भनिन्छ, घोडा चढ्ने मान्छे लड्छ । समाज रुपान्तरणको अग्रगामी महान अभियानमा हिँडेको यात्री लडे पनि धुलो टक्टक्याएर पुनः घोडा चढ्छ र अगाडि बढ्छ । हामी पनि यी घुम्तीहरू र कमीकमजोरीहरूबाट पाठ सिकेर नयाँ वैकल्पिक राजनीतिक अभियानमा दृढ भएर अघि बढिरहेछौं । २०८० चैत ५ गतेको केन्द्रीय समिति बैठकबाट पार्टीभित्र बेलाबखत लाग्ने धमिराहरूलाई पन्छाएर र पार्टीको स्थापनाकालीन प्रतिबद्धतालाई पुनः आत्मसातीकरण गरेर त्यसयता पूरै पार्टी पंक्ति आफ्नो घोषित मिसनमा अघि लम्किरहेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर