५ दिनदेखि उठेन पोखराको फोहोर – Nepal Press

५ दिनदेखि उठेन पोखराको फोहोर

पोखरा । पोखरा महानगरपालिकाको मुख्य सडक छेउमा अहिले फोहोर छरपष्ट छरिएका छन् । वडा नम्बर ३२ लामेआहालका स्थानीयले फोहोर फाल्न रोक लगाएपछि ५ दिनदेखि पोखराका सडकका फोहोर उठेको छैन ।

६ महिनाका लागि सम्झौता गरेर फोहोर फाल्न थालेको महानगरले साढे २ वर्षसम्म विकल्प नदिएपछि स्थानीयले फोहोर फाल्न रोक लगाएका हुन् ।

महानगर र स्थानीयबिचको पछिल्लो सम्झौता माघ २३ गतेदेखि सकिएपछि फोहोर फाल्न रोक लगाइएको स्थानीय मोहन प्रधानले जानकारी दिए । अहिले उक्त ठाउँमा फोहोर फाल्ने अवस्था नरहेको उनले बताए ।

‘उहाँ(मेयर) बच्चाले जति पनि भूमिका खेल्न जान्नुभएन । बजेट दिन्छु भनेर फोहोरको गन्धमा राख्नुभएको छ । अब हामीले कुनै हालतमा फोहोर फाल्न दिने अवस्था छैन’, उनले भने ।

स्थानीय वडाका राजनीतिक दलले समेत सर्वदलीय बैठक बसेरले अहिलेकै अवस्थामा फोहोर फाल्न नदिने निर्णय गरेका छन् । फोहोर फाल्न रोक लगाएसँगै महानगरका गाडीहरु फोहोरले भरिएका छन् भने सडकका छेउमा फोहोर छरिएका, थुप्रिएका छन् । जसले सडकमा हिड्न मानिसलाई समेत दु्रगन्धित बनाएको छ ।

पोखरा नयाँ विमानस्थल सञ्चालनमा आएपछि महानगरले वडा नम्बर ३२ लामेआहालमा अस्थायी रुपमा फोहोर फाल्दै आएको छ । मेयर धनराज आचार्यले बेलाबखत टिकट काटेर फोहोर प्रशोधन केन्द्र हेर्न जाने भनेर बताएको लामो समय हुँदासम्म फोहोर व्यवस्थापनको दीर्घकालिन व्यवस्थापन हुन सकेको छैन ।

महानगरपालिकाका सरससफाई शाखा प्रमुख बलराम पाठकले स्थानीयसँग छलफल जारी रहेको बताए । महानगरले दैनिक १५० देखि २०० टनसम्मको फोहोर व्यवस्थापन गर्दै आएको छ ।


प्रतिक्रिया

One thought on “५ दिनदेखि उठेन पोखराको फोहोर

  1. समाजवादीका धनाढ्य मेयर परे । उनीलाई के मतलव फोहोरको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर