आगामी बजेट उद्योगमैत्री बनाउन उद्योग परिसंघमार्फत रुपन्देहीका उद्योगीको सुझाव – Nepal Press

आगामी बजेट उद्योगमैत्री बनाउन उद्योग परिसंघमार्फत रुपन्देहीका उद्योगीको सुझाव

रुपन्देही । रुपन्देहीका उद्योगी व्यवसायीहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उद्योग क्षेत्र सुधारका लागि गरिनुपर्ने विषयहरूलाई सुझावका रूपमा समेट्न नेपाल उद्योग परिसंघमार्फत सरकारलाई आग्रह गरेका छन् ।

परिसंघले सरकारले आगामी बजेटका विषयमा समेट्नुपर्ने सुझाव माग गरेपछि प्रदेश र जिल्ला तहमा रहेका उद्योगी व्यवसायीहरू समक्ष सुझाव लिने क्रममा रुपन्देहीमा छलफल गरिएको हो ।

उद्योगीहरूले अनुत्पादक क्षेत्रमा लगानी बढाएर उत्पादनमूलक उद्योग प्राथमिकतामा नपारेको, चर्को ब्याज दरका कारण धराशायी भएको, सिंगो व्यवस्था नै उद्योगमैत्री नरहेको र कर्जा भुक्तानीमा पनि समस्या रहेको बताएका छन् ।

उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा ६० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने, महिला सुविधा कर्जा युवा उद्यमशीलता कर्जा, पुनकर्जाजस्ता कर्जाहरू विशेष गरी उत्पादनशील क्षेत्रमा प्राथमिकता दिनुपर्ने, उद्योग क्षेत्रमा गरिने ऋण लगानीको ब्याजदर १ अंकीय हुनुपर्ने, उद्योगमा गरिने लगानीको ब्याजदर बेस रेटको आधारमा कायम गर्नुपर्ने, उद्योगीहरूले एलसी खोल्दा बखत राख्नुपर्ने १० प्रतिशतसम्म मार्जिन नगद रकम बिना ब्याज बैंकमा राख्नुपर्ने व्यवस्था अन्यायपूर्ण रहेकाले हटाउनुपर्ने विषयलाई विशेष रूपमा सम्बोधन गर्न आग्रह गरेका छन् ।

त्यसै गरी उद्योगीको रकम होल्ड गरिने र सो रकम कर्जाबाट होल्ड भएमा उद्योगीले ब्याज तिर्नुपर्ने व्यवस्था व्यवहारिक नभएकाले हटाउनुपर्ने, एलसीवाफत जम्मा हुने रकम कर्जा वा बचत खातामा होल्ड गर्ने व्यवस्था गर्नुपर्ने तथा हालको विषम परिस्थितिलाई मध्यनजर गरी उद्योगहरुको विक्री क्षमता वृद्धि गर्न बैंकहरुले सरल रूपमा कर्जा प्रवाह गरी कर्जा भुक्तानीको समय सीमा स्वतः वृद्धि गर्दै लगेर चालु पूँजी कर्जा तत्काल लागू गर्न नहुने व्यवस्था समेट्न पहल गर्न आग्रह गरेका छन् ।

अग्रिम आयकर, खुल्ला भन्सार, गैरकानुनी ढंगबाट हुने गरेका औद्योगिक गतिविधिहरूले उद्योगीहरूलाई संकटतर्फ धकेलेको उद्योगीहरूले गुनासो गरेका छन् ।

स्थानीय उद्योगी आत्मनिर्भर भए मात्रै स्थानीय अर्थतन्त्रको निर्माण हुने विषयमा ध्यान दिन आग्रह गरेका छन् । पूर्वाधार एवं नीतिगत सुधार गरेर अहिले भएका भन्सार नीति उद्योगीमैत्री बनाउन पहल गर्न उनीहरूले परिसंघका प्रतिनिधिलाई आग्रह गरेका हुन ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटाले उद्योगीहरूले स्वदेशी लगानी वृद्धि हुँदा राष्ट्रिय अर्थतन्त्र मजबुत हुने बताए । परिसंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद बस्यालले आगामी बजेटमार्फत नेपाल सरकार र सम्बन्धित निकायलाई सुझाव दिनका लागि कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रमबाट उठेका सबै विषयहरू लुम्बिनी प्रदेश र परिसंघ केन्द्रमार्फत सम्बन्धित निकायमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उद्योगीहरू चन्द्रमान श्रेष्ठ,उपेन्द्र अग्रवाल, लीलबहादुर कार्की, निश्चल शर्मा, मेघराज भण्डारी, राजकुमार श्रेष्ठ, सूर्यबहादुर कार्की, कुसुम खनाल, रमेशप्रसाद आचार्य, राजु घिमिरे, दिलु शाहीले उद्योगहरूलाई सहज वातावरणमा सञ्चालन गर्न साना उद्योगीहरूको भावनालाई समेत समेट्नु सुझाव राखेका थिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ काठमाडौंका निर्देशक राजिव मजगैंया, हिमाल पौडेल संघका संस्थागत अध्यक्षहरू, वस्तुगत समितिका संयोजकहरू, सदस्य उद्योगीहरूको सहभागिता रहेको थियो ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटाको अध्यक्षता र महासचिव हिरामणी भट्टराईको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा धन्यवाद ज्ञापन रुपन्देही उद्योग संघका द्वितीय उपाध्यक्ष हरिबहादुर खत्रीले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर