सभामुखलाई ज्ञापनपत्र बुझाएर निस्केका फणीन्द्र नेपाल जब सिंहदरबारभित्रै प्रहरी घेराउमा परे


काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल सिंहदरबारभित्रै प्रहरीको घेराउमा परेका छन् । सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएर फर्किन लाग्दा उनलाई प्रहरीको एउटा समूहले निकै बेरसम्म झमेला गरे ।
नेपालको कालापानी क्षेत्रबाट भारतीय सेना तत्काल हटाउन प्रतिनिधिसभाले अविलम्ब संकल्प प्रस्ताव पारित गरोस् भन्ने विषयमा सभामुखलाई ज्ञापनपत्र बुझाउन गएका थिए नेपाल । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले गेटपास उपलब्ध गराइदिएपछि अर्का अभियन्ता रत्न प्रजापति सहित सिंहदरबार छिरेका थिए उनी ।
सभामुख घिमिरेलाई उनकै सचिवालयमा भेटेर नेपालले ज्ञापनपत्र बुझाए । बुझाउनुअघि वाचन गरेर सुनाए पनि । त्यसमा सभामुखले सकारात्मक प्रतिक्रिया दिएको नेपाल बताउँछन् ।
‘उहाँले यो संवेदनशील विषय भएको र कुनै न कुनै समाधान निकाल्नुपर्ने बताउनुभयो । यो ज्ञापनपत्र सांसदहरूलाई पनि दिन मलाई सुझाव दिनुभयो ताकि कसैले संसद् बैठकमा आवाज उठाओस्,’ नेपालले भने ।
संसद् सचिवालयबाट निस्किएर नेपाल र प्रजापति एक चिनजानका सहसचिव भेट्न परराष्ट्र मन्त्रालय छिरे । त्यहाँ करिब आधा घण्टा बिताए । परराष्ट्रबाट निस्किँदा एक युट्यूवरले उनीहरूलाई अन्तरवार्ताका लागि आग्रह गरे । नजिकै रहेको खाली चौरमा उभिएर उनीहरूले अन्तरवार्ता दिए ।
अन्तरवार्ता सकिएर हिँड्नै लाग्दा अचानक एक हुल प्रहरी उनीहरू भएतिर आए । उनीहरूलाई सिंहदरबारभित्र आउनुको प्रयोजन सोधियो । नेपालले आफू सभामुखलाई ज्ञापनपत्र बुझाएर आएको बताए । ज्ञापनपत्रको चिर्कटो पनि देखाए । सिनियर प्रहरीले ध्यान दिएर हेरे । त्यस चिर्कटोको फोटो खिच्न लगाए । दुवै जनालाई आआफ्नो परिचयपत्र र सिंहदरबारभित्र प्रवेश गर्ने पास देखाउन भनियो । उनीहरूले देखाए ।
नेपालले सोधे, ‘हामी जिम्मेवार व्यक्ति हौँ, तपाईंहरुलाई हामीमाथि के शंका लागेको हो ? कि समात्न खोज्नुभएको हो ?’
एक प्रहरीले भने, ‘हामीले आफ्नो ड्यूटी निभाएका हौँ ।’
त्यसपछि प्रहरीले उनीहरूलाई निस्किन अनुमति दिए । तर, दुईजना प्रहरी उनीहरू पछिपछि गेटसम्मै आएका थिए ।
प्रहरीको यो व्यवहार आफूलाई अनौठो र शङ्कास्पद लगाएको नेपाल बताउँछन् ।
‘एकै पटक ७–८ जना प्रहरीले आएर घेर्दा सुरुमा त पक्राउ गर्नै लागेको महसुस भयो । त्यहाँ अन्तरवार्ता दिन नपाइने रहेछ क्यारे भन्ने पनि सोचेँ । तर उनीहरूले अन्तरवार्ता दिएको विषयमा कुनै आपत्ति जनाएनन् । खाली हाम्रो फोटोसोटो खिचेर गए,’ उनले भने ।
गत पुस २२ गते नेपाल सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ परेका थिए । सिंहदरबार गेटमा धर्ना बस्न खोज्दा निषेधित क्षेत्र तोडेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।