बुद्धले निर्वाण प्राप्त गरेको सम्झनामा श्रीखण्ड तरुल महाविहारले शोभायात्रा गर्दै


काठमाडौं । गौतम बुद्धले निर्वाण प्राप्त गरेको सम्झनामा श्रीखण्ड तरुल महाविहारले शोभायात्रा गर्ने भएको छ । निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नुभन्दा ३ महिना अघि नै बुद्धले माघपूर्णिमा (सिल्लापुन्हि) का दिन आफ्नो निर्वाण प्राप्त गर्ने मिति बताएका थिए ।
भगवान बुद्धले आफूले निर्वाण प्राप्त गर्ने दिन घोषणा गरेको दिनलाई समस्त बौद्ध जगतले आयुसंस्कारपरित्यागको दिन मानी उत्सवको रुपमा मनाउँदै आएका छन् ।
श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले माघपूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष भगवान बुद्धको आयुसंस्कारपरित्याग दिवस मनाउँदै आएको छ ।
उक्त महाविहारले २०८१ मघ ३० गते उक्त अवसरमा वृहद शोभायात्राको तयार गरेको कार्यक्रमका संयोजक, ई दिल्लीरत्न शाक्यले जानकारी दिए ।
‘अघिल्लो वर्ष पनि आयुसंस्कार परित्याग दिवसका दिन भगवान बुद्धको मूर्ति विशेष रुपले सजाएर गाडीमा विराजमान गराई बसन्तपुरबाट विभिन्न सांस्कृतिक वाजागाजासहित शोभायात्रा गरी नगर परिक्रमा गराएका थियौँ,’ शाक्यले भने, ‘यो वर्ष पनि शोभायात्रा काठमाडौंको वसन्तपुर, काष्ठमण्डप, चिकंमुगल, जैसीदेवल, ज्याबहाल, लगन, व्रम्हटोल, ह्यूमत पुगेर फेरी कोहिति, भिमसेनस्थान, मरुटोल, प्याफल, यत्खा, नरदेवी, त्यंगल, बाङ्गेमुढा, न्हाय्कंतला, असन, केलटोल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुरमा पुगेर सामपन गर्ने कार्यक्रम रहेको छ ।’
उनले शोभायात्रामा काठमाडौंका विभिन वौद्ध विहारका बज्राचार्य, शाक्य गूरूहरू तथा उपासक–उपासिकाहरुका साथै समाजका विभिन्न समूदायका हजारौँको संख्यामा सहभागिता रहने जानकारी दिए ।
गौतमबुद्धले २९ वर्षको उमेरमा गृहत्याग गरेका थिए भने ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाको रातमा सम्बोधि लाभ ९वोधिज्ञान० गरेका थिए । आज भन्दा २५०० वर्ष अघि वैशाखपूर्णिमाका दिन लुम्बिनीमा जन्मिएका बुद्धले ८० वर्षको उमेरमा वैशाखपूर्णिमाकै दिन सहज महापरिनिर्वाण प्राप्त गरेका थिए ।
‘१२ सय ५० भन्दा बढी अर्हत् भिक्षुहरु एकत्रित भएको, एकत्रित सबै भिक्षुहरुको बुद्धवाक्यद्वारा उपसम्पदा हुनु, एकत्रित सबै भिक्षुहरुको पूर्वसूचना विना समागन हुनु, एकत्रित भिक्षुहरुलाई भगवान बुद्धद्वारा ओवाद प्रतिमोक्ष उपदेश प्रदान गर्नु जस्ता सुयोगले पनि यो दिनलाई धुमधामसँग मनाउने परम्परा छ,’ शाक्यले भने ।