अडानको सातौँ महाधिवेशन जेठ दोस्रो साता तोकियो, जिल्ला र प्रदेश अधिवेशनको पनि डेडलाइन


काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान)को सातौँ राष्ट्रिय महाधिवेशन जेठ १६ र १७ गते काठमाडौंमा हुने भएको छ ।
अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न २२ औँ सचिवालयको पूर्ण बैठकले महाधिवेशन र जिल्ला तथा प्रदेश अधिवेशनहरूको मिति तोकेको हो ।
बैठकमा महासचिव प्रेम बहादुर श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन माथि सुझावसहित पारित भएको प्रथम उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक डा. डिपी दाहालले जानकारी दिए ।
बैठकले आगामी सातौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि २०८१ चैत्र १० गते भित्र जिल्ला अधिवेशन र २०८२ वैशाख १० गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्न सम्बन्धित जिल्ला र प्रदेश कार्य समितिहरूलाई निर्देशन समेत दिएको छ ।
महाधिवेशनको तयारीका लागि आगामी चैत्र १५ गते काठमाडौंमा केन्द्रीय कार्य समितिको बैठक बोलाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।