डोटीमा ९८ प्रतिशत किशोरीले लाए एचपीभी खोप – Nepal Press

डोटीमा ९८ प्रतिशत किशोरीले लाए एचपीभी खोप

डोटी । डोटीमा ११ हजार दुई सय ५३ किशोरीहरूले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप हुमन प्यापिलोमा भाइरस (एचपीभी) लाएका छन् । यो संख्या स्वास्थ्य कार्यालय डोटीले राखेको कुल लक्ष ११ हजार ४ सय ८७ को ९८ प्रतिशत हुन आउँछ ।

स्वास्थ्य कार्यालय डोटीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले दिएको जानकारी अनुसार जिल्लामा २२ गतेदेखि २८ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । जस अन्तरगत जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकामा लक्ष भन्दा बढीले खोप लाएका छन् ।

जोरायलमा एक हजार ९७ लक्ष राखिएकोमा एक हजार १२७ ले खोप लाएका छन् । यस्तै, बडिकेदारमा ७ सय ४९ लक्ष राखिएकोमा ७ सय ५४ र बोगटानमा ७ सय ७७ लक्ष राखिएकोमा ७ सय ८७ ले खोप लगाएका छन् ।

यी पालिकाहरूमा खोपका लागि तथ्याङ्क संकलन भइसकेपछि केही मान्छेहरू थप भएका कारण लक्ष भन्दा बढी प्रगति देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

जिल्लाका नौ पालिकामध्ये शिखर नगरपालिका र सायल गाउँपालिकाले लक्ष अनुसारको प्रगति गरेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार दिपायल सिलगढी नगरपालिका, आदर्श, केआई सिंह र पूर्वीचौकी गाउँपालिकामा लक्ष अनुसारको प्रगति भएको देखिँदैन ।

आदर्शमा लक्ष्यको ९१ प्रतिशत मात्रै प्रगति भएको देखिन्छ । यस गाउँपालिकामा एक हजार ६६३ को लक्ष्य राखिएकोमा एक हजार ५१० किशोरीहरूले मात्रै खोप लाएका छन् ।

दिपायल सिलगढी नगरपालिकामा दिपायल सिलगढीमा दुई हजार ४१ लक्ष राखिएकोमा एक हजार ९ सय ६६ ले मात्रै खोप लाएका छन् । यो संख्या लक्षको ९६ प्रतिशत मात्रै हो ।

यस्तै, पूर्वीचौकीमा एक हजार २०४ को लक्ष रहेकोमा एक हजार १७७ ले खोप लाएका छन् । केआई सिंहमा एक हजार २७९ लक्ष राखिएकोमा एक हजार २५९ ले उक्त खोप लाएका खोप कार्यक्रम संयोजक विष्टले जानकारी दिए ।

खोप लगाउन छुटेका किशोरीहरुको खोजी कार्य सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख मलासी बताउँछन् । उनले छुटेका व्यक्तिलाई खोजेर खोप लगाइने जानकारी दिए ।

जिल्लामा अझै तीन सय ६४ खोप मौज्दात रहेको बताउँदै मलासीले भने ‘हामी खोजी गर्छौँ, छुटेका किशोरीहरूलाई पालिकाको कुनै स्वास्थ्य संस्थामा जम्मा गरेर खोप लगाउँछौँ ।’ जिल्लामा शत प्रतिशत खोप पुर्‍याउने उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *