खेलकुदमन्त्री चौधरीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको स्काउट कर्मचारी नियमावली

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले त्रुटिपूर्ण नेपाल स्काउटको कर्मचारी सेवा नियमावलीमा सच्याएर प्रमाणीकरण गरेका छन् ।
मन्त्री चौधरीले नेपाल स्काउट कर्मचारी सेवा नियमावाली २०५२ संशोधन २०८१ को अनुसूची ४ (क) को १ र अनुसूची ४ (ख) को ४ मा नेपाल सरकार नलेखी ‘श्री ५ को सरकार’ भएको नियमावलीमा हस्ताक्षर गरेका थिए ।
नेपाल स्काउट कर्मचारी नियमावली संशोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको समाचार नेपाल प्रेसमा प्रकाशित भएपछि मन्त्री चौधरीले ‘श्री ५ को सरकार’ हटाएर ‘नेपाल सरकार’ राखेर प्रमाणीकरण गरेका छन् ।
याे पनि पढ्नुस् : प्रधानमन्त्रीलाई प्रश्न–तेजुलाल चौधरी नेपाल सरकारका मन्त्री कि श्री ५ को सरकारका ? (प्रमाणसहित)
उनले नियमावलीमा टाइप त्रुटि भएर ‘श्री ५ को सरकार’ लेख्न पुगेको बताएका छन् । उनले उक्त ‘श्री ५ को सरकार’ शब्दावली नेपालको संविधान २०७२ भाग १ धारा १ मा यो संविधान नेपालको मूल कानून हो, यस संविधानसँग बाँझिने कानून बाँझिएको हदसम्म अमान्य हुनेछ भन्ने व्यवस्थाविपरीत रहेको पाइएकाले उक्त त्रुटि सच्याइएको उल्लेख गरेका छन् ।
उनले स्काउटलाई लेखेको पत्रमा भनेका छन्, ‘नेपाल स्काउट कर्मचारी सेवा नियमावाली २०५२ संशोधन २०८१ को अनुसूची ४ (क) को १ र ऐ. ४ (ख) को ४ मा टाइपमा त्रुटि भई नेपाल सरकार लेखिनुपर्नेमा ‘श्री ५ को सरकार’ लेखिन गएकाले उक्त ‘श्री ५ को सरकार’ शब्दावली नेपालको संविधान २०७२ भाग १ धारा १ मा यो संविधान नेपालको मूल कानून हो, यस संविधानसँग बाँझिने कानून बाँझिएको हदसम्म अमान्य हुनेछ भन्ने व्यवस्थाविपरीत रहेको पाइएकाले उक्त त्रुटि सच्याइ नियमावलीमा उल्लेखित ‘श्री ५ को सरकार’ लेखिएको शब्दावलीको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ ।’