सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित, बौद्धिक सम्पत्तिको आधारमा ऋण पाइने – Nepal Press

सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित, बौद्धिक सम्पत्तिको आधारमा ऋण पाइने

काठमाडौं । सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेकोमा सभाले स्वीकार गर्दै विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

प्रस्तावित विधेयकमा भएका व्यवस्थाको कार्यान्वयनबाट चल सम्पत्तिको धितोमा हुने कारोबार सुरक्षित र व्यवस्थित भई चल सम्पत्तिउपरको दायित्व परिपालना हुने र यसले चल सम्पत्तिको धितोमा हुने आर्थिक क्रियाकलाप बढोत्तरी हुने अपेक्षा लिइएको अर्थमन्त्री पौडेलले बैठकमा बताएका थिए ।

राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकलाई सोमबार प्रतिनिधिसभाले संशोधनसहित सर्वसम्मतिले पारित गरेसँगै उक्त विधेयक अब राष्ट्रियसभामै जानेछ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछन् । प्रमाणीकरण भएपछि राजपत्रमा सूचना प्रकाशित भएपछि उक्त विधेयक ऐनका रुपमा लागू हुनेछ ।

संशोधित विधेयकमा अन्तर्राष्ट्रिय व्यापार र सूचना प्रविधिसँग सम्बन्धित कारोबारलाई सुरक्षित कारोबारअन्तर्गत समेटेको छ । विधेयकले सुरक्षित कारोबारसम्बन्धी अधिकारपत्रअन्तर्गत प्रतिज्ञापत्र (एलसी), विनिमय पत्र र अन्य विनिमय अधिकार पत्रलाई समेत सुरक्षित कारोबारको दायरामा समेटेको छ ।

विधेयकमा यस्तो व्यवस्था भएसँगै अब वैदेशिक व्यापारसम्बन्धी क्रियाकलापमा कारोबार सुरक्षितका लागि बाटो खुल्नेछ । त्यस्तै बौद्धिक सम्पत्तिलाई समेत आधार मानेर ऋण दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ ।

विधेयकले जडित सामान, उत्खनन्‌का लागि अनुमतिप्राप्त खनिज पदार्थ, हुर्किँदै गरेको बाली, काट्नुपर्ने रुखलगायत मूर्त तथा अमूर्त सम्पत्तिलाई समेत धितोमा राखेर व्यक्तिगत रूपमै ऋण दिन सहज हुने पनि बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर