‘नो केबलकार’ आन्दोलनमा राजनीति घुस्यो, पहिचानवादी दल र मोर्चाले लिए औपचारिक कमान्ड – Nepal Press

‘नो केबलकार’ आन्दोलनमा राजनीति घुस्यो, पहिचानवादी दल र मोर्चाले लिए औपचारिक कमान्ड

काठमाडौं । कोशी प्रदेश नाम खारेजीको आन्दोलनलाई इलाम- २ को उपनिर्वाचनमा लगेर संगठित गरेको ‘पहिचानवादी मोर्चा’ले पाथीभरामा केबलकार बन्न नदिने आन्दोलनको औपचारिक नेतृत्व गरेको छ ।

स्थानीय बासिन्दाको नामबाट भइरहेको अवरोध र नो केबलकार अभियानमा ताप्लेजुङका जनप्रतिनिधि, जनमत प्राप्त त्यहाँका राजनीतिक दल र स्थानीय उद्योग व्यवसायीले साथ नदिएपछि पहिचानवादी राजनीतिक दलहरु मैदानमा उत्रिएका हुन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै इलाम उपनिर्वाचनमा साझा उम्मेदवार दिएर तेस्रो भएको पहिचानवादी मोर्चाका सबै घटकलाई मधेशवादी नेता राजेन्द्र महतोदेखि जसपा, नेशनल मंगोल र नागरिक उन्मुक्ति पार्टीसम्मले साथ दिँदै आमहड्तालसम्मको आन्दोलन घोषणा गरेका छन् ।

पाथीभरामा केबलकार चाहिँदैन र यसले संस्कृति मास्छ भन्ने दाबीसहित केही जातीय समूहले थालेको आन्दोलन अब औपचारिक रुपमा पहिचानवादी दल र मोर्चाहरुको कमान्डमा गएको छ ।

लिम्बू र अन्य जनजाति बाहुल्य इलाममा पहिचानको नारा लगाएर देश–विदेशबाट संगठित पहल गर्दा पनि चुनाव जित्न नसकेको पहिचानवादी मोर्चाले कोशीमा अशान्ति मच्चाउन अर्को इस्यु खोजिरहेका बेला पाथीभरा केबलकार बहाना बनेको आरोप फुङलिङका मेयर अमिन मादेनको छ । उनले एकाध पहिचानवादी अभियन्ताबाहेक ताप्लेजुङका सरोकारवाला कोही पनि यो आन्दोलनमा नरहेको बताएका छन् ।

इलाम उपचुनावमा पहिचानवादी मोर्चा, आदिवासी अभियन्ता, विदेशस्थित मोर्चादेखि धरानका मेयर हर्क साम्पाङसम्मको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम थिए, तर उनी एमालेका सुहाङ नेम्वाङसँग पराजित भएर तेस्रो स्थानमा रहे । पाथीभरा केबलकारविरुद्धको आन्दोलनको नेतृत्व पंक्तिमा उनै थेगिमसमेत छन् ।

यसका साथै आन्दोलन घोषणा गर्ने अन्तरदलीय राजनीतिक पार्टीहरुमा राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीलगायत ९ वटा जातीय, क्षेत्रीय र नेपाल कम्युनिष्ट पार्टीसमेत छन् ।

पत्रकार सम्मेलनमा माओवादी नेता भवानी बराल पनि आन्दोलनको ऐक्यबद्धता जनाउन पुगेका थिए ।

आन्दोलन राजनीतिक उद्देश्यले हो भन्ने कुरा संयुक्त वक्तव्यको सुरुदेखि नै ताप्लेजुङ जिल्लाबाट निर्वाचित सांसद योगेश भट्टराईमाथि आरोप लगाउनुले पुष्टि हुन्छ । वक्तव्यमा योगेशमाथि एकल जातीय वर्चस्व कायम गर्न खोजेकोलगायतका आरोप लगाइएको छ ।

आन्दोलन घोषणा गर्ने र वक्तव्यमा हस्ताक्षर गर्नेहरु भने ताप्लेजुङका होइनन् । यसअघि केबलकार कम्पनीका अध्यक्ष चन्द्र ढकाल र मेयर मादेनले पनि अहिलेको आन्दोलन तथा अवरोध स्थानीय जनताले नभएर बाहिरका पहिचानवादी राजनीतिक अभियन्ता र विदेशमा बस्ने उनीहरुका आर्थिक स्रोतहरुले गरेको बताएका थिए ।

जनप्रतिनिधिले भने–बाहिरी मान्छेले राजनीति गर्दैछन्

सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाका मेयर अमिर मादेन र ७ वटै वडाका वडाध्यक्षले आन्दोलनकारीलाई वार्ताबाट नभाग्न आग्रह समेत गरेका छन् । सरकारसँगको वार्तामा ताप्लेजुङ बाहिरका मानिस सहभागी भएकाले वार्ता सफल नभएको उनीहरुको भनाइ छ ।

पत्रकार सम्मेलनमा स्थानीय तहलाई केवलकार निर्माणको अनुमति दिने अधिकार भएकाले त्यो अधिकार आफूभन्दा अगाडिको मेयरले प्रयोग गरेको बताउँदै मेयर मादेनले आफूले भने त्यसको नवीकरण गरिदिएको बताए । उनले केबलकारको विषयमा राजनीति मिसिएको बताउँदै राजनीतिकरण गरेर ताप्लेजुङको समस्या समाधान नहुने समेत बताएका छन् ।

पत्रकार सम्मेलनमा उपस्थित केबलकार आयोजना प्रभावित क्षेत्रका सबै वडाध्यक्षले आफ्नो वडाका जनता केबलकार बनाउनुपर्ने पक्षमा भएकाले बाहिरका जिल्लाबाट अनावश्यक राजनीतिक हस्तक्षेप भएको बताएका थिए ।

ताप्लेजुङका जनता केबलकारको विपक्षमा छन् भनेर फैलाइएको भ्रमप्रति आपत्ति जनाउँदै उनिहरुले मिडियाकर्मीलाई वास्तविक जनताको आवाज बाहिर लैजान आग्रह समेत गरेका छन् ।
केबलकार निर्माण हुने फुङलिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराईले आफ्नो वडाका शतप्रतिशत जस्तै जनता केबलकारको पक्षमा रहेको र कहिले बन्छ भनेर व्यग्र प्रतीक्षामा रहेको पनि बताए ।

नो केबलकार भन्नेहरु जिल्लाबाहिरका रहेको भन्दै उनले केबलकार निर्माणमा ढिला गर्न नहुने बताए । भट्टराई नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

फुङलिङ–९ का वडाध्यक्ष लक्षुमन गुरुङले अनावश्यक विवाद निकालेर समुदायलाई विभाजित गर्न केही राजनीतिक स्वार्थमा लागेका व्यक्तिहरु सक्रिय रहेको बताए । पत्रकार सम्मेलनमा वडा नम्बर २ का मोहन न्यौपाने, ३ का टंक पालुङवा, ७ का योगेन्द्र निरौला, ६ का तेज गुरुङले केबलकार निर्माण गर्नुपर्ने र आन्दोलनरत समूहलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिकाका निवर्तमान उपमेयर तारा भट्टराई, उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू, गैरसरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गविक्रम सुवेदीले केबलकार निर्माणमा अवरोध पु¥याउन नहुने बताए ।


प्रतिक्रिया

One thought on “‘नो केबलकार’ आन्दोलनमा राजनीति घुस्यो, पहिचानवादी दल र मोर्चाले लिए औपचारिक कमान्ड

  1. तेसैभएरता नि स्थानिय सरकारको आवश्यक भएको हो नि, अरू कसैलाई के को टाउको दुखाई ? स्थानिय सरकार एकमत भएपछि अरू के को खसखस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर