वर्षमानको दाबी- फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन चाहेन (भिडिओ)


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन नचाहेको दाबी गरेका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले केही अध्यादेशमा जसपा नेपालसमेत असन्तुष्ट रहेको अवस्थामा फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन नचाहेको बताएका हुन् ।
जसपा नेपालले अध्यादेशमा समर्थन नजनाउने उनको जिकिर छ । पुनले प्रक्रियागत रूपले अध्यादेश गलत रहेको र अध्यादेशका केही अन्तर्वस्तुमा समेत त्रुटि रहेकाले सच्याउनुपर्ने बताए ।
यसअघि माओवादी नेतृत्वको सरकारले अन्य दलहरूसँगको परामर्शमा नै अध्यादेश ल्याएको भन्दै उनले अहिलेको सरकारले एकलौटी गरेको टिप्पणी गरे ।
उपमहासचिव पुनले सरकारमा जान माओवादीलाई कुनै हतारो नरहेको र ८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको बताए । सरकार परिवर्तनका लागि प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई कुनै अफर नगरेको उनको प्रष्टीकरण थियो ।