भारतीय मिडिया टीमले जित्यो भारत-नेपाल मैत्रीपूर्ण क्रिकेटको उपाधि – Nepal Press

भारतीय मिडिया टीमले जित्यो भारत-नेपाल मैत्रीपूर्ण क्रिकेटको उपाधि

रुपन्देही । भारत-नेपाल दोस्रो मैत्रीपूर्ण मिडिया कप क्रिकेटको उपाधि भारतीय मिडिया टीमले जितेको छ । भारतीय मिडियाको आयोजनामा भारतको राज मनोहर लोहिया कलेज नौतनवाको खेल मैदानमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रेस क्लब रुपन्देहीलाई ५ विकेटले पराजित गर्दै भारतीय मिडिया टीमले उपाधि जितेको हो ।

भारतीय मिडिया टीमले उपाधिसँगै नगद ११ हजार भारतीय रुपैयाँ पायो । उपविजेता बनेको लुम्बिनी प्रेस क्लबले नगद १० हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

टस जितेर ब्याटिङ गरेको प्रेस क्लबले निर्धारित १५ ओभरमा १४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १०८ रन बनायो । उसका लागि सचिन चौधरीले ४३ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै मोहम्मद हविवले ११ रन बनाए । प्रेस क्लबका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा भारतीय मिडियाका विनयले ३, मुकेशले २ र आलोक जोशी तथा अमित त्रिपाठीले समान १-१ विकेट लिए ।

भारतीय टीमले १०९ रनको लक्ष्य ११ ओभर ४ बलमा ५ विकेटको नोक्सानीमा पूरा गर्‍यो । उसका लागि अरविन्द त्रिपाठीले महत्वपूर्ण ५२ रन बनाए । यस्तै अमित त्रिपाठीले २२, रोहितले १२ र पुनितले १० रन बनाइ टीमलाई जित दिलाए ।

बलिङतर्फ प्रेस क्लबका भुवन पाण्डे र भीम भण्डारीले समान २-२ विकेट लिँदा प्रकाश न्यौपानेले १ विकेट हात पारे ।

खेलमा अरविन्द त्रिपाठी प्लेयर अफ द म्याच र म्यान अफ द सिरिज घोषित भई पुरस्कृत भए । प्रेस क्लबका सचिन चौधरी बेस्ट ब्याटर, भारतीय टीमका विनय बेस्ट बलर र प्रेस क्लबका भुवन पाण्डे बेस्ट फिल्डर भई पुरस्कृत भए ।

भारतीय टीमका कप्तान अमित त्रिपाठी र प्रेस क्लबका अध्यक्ष एवं कप्तान कमल रायमाझीले सीमा क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुबीच आपसी भाइचारा अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको जनाए ।

माघ २ मा भैरहवामा प्रेस क्लबले नेपाल-भारत मैत्रीपूर्ण क्रिकेट गरेको थियो । भारतीय मिडिया टीमले भने गत वर्षदेखि प्रतियोगिता आयोजना गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *