यस वर्षको सुशासन पुरस्कार नेपाल प्रेसलाई, अख्तियार दिवसमा विशेष सम्मान प्रदान


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रेस www.nepalpress.com लाई यस वर्षको सुशासन पुरस्कार प्रदान गरेको छ ।
भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा निरन्तर समाचार सम्प्रेषण तथा खोज अनुसन्धान र लेख रचना प्रकाशन गरेकोमा कदरस्वरुप अख्तियारले नेपाल प्रेसलाई पुरस्कृत गरेको हो ।
अख्तियारको ३४ औं स्थापना दिवसका अवसरमा सोमवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख देवराज घिमिरेले नेपाल प्रेसलाई सुशासन पुरस्कार तथा कदरपत्र प्रदान गरे । नेपाल इप्रेश मिडिया प्रालि (Nepal E. Press Media Pvt. Ltd.) का अध्यक्ष विन्दुराज लम्सालले नेपाल प्रेसलाई अख्तियारले प्रदान गरेको पुरस्कार ग्रहण गरेका थिए ।
पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याए वाफत् अवार्ड प्रदान गरिएको अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले बताए । सोही समारोहमा नेपाल प्रेसका स्तम्भकार सुदर्शन आचार्य पनि पुरस्कृत भएका छन् ।
तथ्य अन्वेषण,सत्य सम्प्रेषणको संकल्पसहित २०७७ साल मङ्सिर २९ गतेबाट नेपालको मूलधारको पत्रकारितामा आएको नेपाल प्रेसले यसबीचमा सुशासन,जबाफदेहिता र भ्रष्टाचारविरुद्ध तीनै तहका सरकारदेखि संस्थागत क्षेत्रमा खोजमूलक समाचार तथा विचार सम्प्रेषण गर्दै आएको छ ।
टेरामक्स घोटालादेखि वर्ल्डलिंक इन्टरनेट सेवा प्रदायकले गरेको रोयल्टी तथा आरटिडिएफ शुल्क घोटालाको खोजमूलक रिपोर्टिङ नेपाल प्रेसबाट भएको थियो ।
टेरामक्समा अख्तियारको अनुसन्धान अन्तिम चरणमा पुगेको छ भने वर्ल्डलिंकलगायतले नेपाल प्रेसको समाचारपछि सर्वोच्च अदालत गए पनि अदालतले रोयल्टी तिर्न आदेश दिएपछि अहिले सरकारले करिब ८ अर्ब राजश्व पाएको छ ।
नेपाल प्रेसले नै त्रिवि सेवा आयोगको परीक्षाको कपी जाँचमा भएको धाँधलीको समेत खुलासा गरेपछि अख्तियारले सो परीक्षा रद्द गरेको थियो । विभिन्न स्थानीय तह र प्रदेश सरकारबाट भएका अनियमितताका घटनामा पनि नेपाल प्रेसले निगरानीसहित समाचार सम्प्रेषण गरेको छ ।
अख्तियारले नेपाल प्रेसलाई संस्थागत सुशासन पुरस्कार प्रदान गरेर भ्रष्टाचारविरुद्ध कलम चलाउन अझ प्रेरणा दिएको र तथ्य अन्वेषण गरेर सत्य सम्प्रेषण गर्ने नेपाल प्रेसको अभियान अझ सशक्त र जिम्मेवार ढंगले अघि बढ्ने प्रधान सम्पादक मात्रिका पौडेलले बताए ।
Congratulations ! Keep it up.
हार्दिक बधाई। प्रेसको धर्म निरन्तर पालना होस् । हार्दिक शुभकामना ।