एमालेको जरा अभियान र माओले आमाबाट पाएको शिक्षा

शरीरको आधारभूत इकाइ कोष (सेल) हो भने राजनीतिक दलहरूको आधारभूत इकाइको रूपमा पार्टी सदस्यहरू हुन अर्थात टोल तह हो । जुन तहले प्रत्यक्ष रूपमा जनतासँग पुग्ने काम गर्दछ । हो, जनता पार्टी जोड्न नेकपा एमालेले वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ सञ्चालन गरेको छ । माघ, फागुन र चैत गरी तीन महिना सञ्चालन गर्ने यो अभियान ‘जरा अभियान’ हो । एमालेले अहिले जरा संगठनका रूपमा रहेको टोल तहसम्मका पार्टी प्रणालीमा पुगेर समस्याको पहिचान गर्र्दै रोग पत्ता लगाई उपचार गर्ने अभियान चलाएको छ । जराहरू स्वस्थ, निरोगी र सञ्चालित भए भने पार्टीका हाँगा, डाँठ र पातहरू पनि निरोगी र बलिया हुन्छन् । जराहरू नै कमजोर र अस्वस्थ भए हाँगा, डाँठ र पातहरू पनि स्वतः पहेलिँदै जान्छन् । जराहरूलाई माया गर्दै निरोगी बनाउने अभियानमा यतिबेला नेकपा एमालेको सिंगो पार्टी पंक्ति परिचालित छ । पछिल्ला समय जराहरूलाई बेवास्ता गरेको, जरा संगठनलाई यथोचित ध्यान नदिएको र पार्टीमा टपर्टुय्याँ तथा स्वार्थ केन्द्रित प्रवृत्ति हावी हुन थालेपछि यसको निदानका लागि जरा अभियान सञ्चालनमा ल्याइएको हो ।
गएको स्थानीय तहको उपनिर्वाचनको परिणामबाट झस्किएको एमालेले पार्टीको जराका रूपमा रहेको टोलस्तरका संगठनहरूमा ध्यान दिएको छ । जराहरू कमजोर भएका कारण परिणाम सुखद र आशातित प्राप्त नभएको निष्कर्ष एमालेले निकाल्यो । हाँगा र पातहरूमा अनेकखालका विकृतिहरू फैलिन थालेपछि पार्टी थेग्न पार्टीको आधारभूत तहको इकाइ जराहरू शिथिल र रोगी बन्न थाले । एकातिर यस्तो अवस्था देखापर्यो भने अर्कोतर्फ केन्द्रीय नेताहरू विभिन्न बहानामा केन्द्रकै वरिपरि, प्रदेशका नेताहरू शहरमै, स्थानीय नेताहरू जिल्ला सदरमुकाम वरिपरि केन्द्रित हुने प्रवृत्तिका कारण पार्टी र जनताबीचको सम्बन्ध पातलिँदै जाँदा पार्टीको साँगठनिक र वैचारिक काम उठ्न सकेन । पार्टीभित्र निर्देशन अर्थात् कमिटी टु कमिटी, चुनावदेखि चुनावसम्म जस्तो अवस्था बढ्दै जान थाल्यो । नेताहरू सुविधाभोगी भएको, जनतासँग प्रत्यक्ष टुटेको कार्यकर्ता र जनताको गुनासो देखिन्छ ।
त्यस्तै नेताहरूको कार्यशैली र जीवनशैलीमा पनि समस्या देखापरेका छन् । नेता तथा कार्यकर्ताको कार्यशैली र जीवनशैली जनप्रिय हुन नसकेको, जनतासम्म जीवन्त रूपमा घनिष्ट सम्बन्ध एकाकार हुन नसकेको र पछिल्लो समय पार्टी र जनताबीचको सम्बन्धको कडी कमजोर बनेको जस्ता समस्याहरू बढ्दै गएको देखिन्छ । संसदीय व्यवस्थामा अब्बल एमाले संगठनात्मक रूपमा पनि नेपालका राजनीतिक दलहरूमा नम्बर एक पार्टी हो । जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तको सफल प्रयोग गर्दै यसको आलोक र जगमा एमालेले जनमत प्राप्त गर्दै आएको यथार्थ हो । नेपाली विशेषतासहितको जबज जस्तो सिद्धान्त अंगीकार गर्दै अघि बढिरहेको एमालेमा पछिल्ला दिनमा कहीँ न कहीँ समस्या देखापरेका छन् ।
पछिल्ला समय जराहरूलाई बेवास्ता गरेको, जरा संगठनलाई यथोचित ध्यान नदिएको र पार्टीमा टपर्टुय्याँ तथा स्वार्थ केन्द्रित प्रवृत्ति हावी हुन थालेपछि यसको निदानका लागि जरा अभियान सञ्चालनमा ल्याइएको हो ।
संगठन नै संगठन भएको पार्टी असंगठित जस्तो देखिन थालेको छ । स्पष्ट सिद्धान्त र विचार भएको पार्टीका नेता र कार्यकर्ताहरू शक्तिहीन जस्ता किन भइरहेका छन् ? बहस र तर्कमा खरो ढंगले उत्रने नेता कार्यकर्ताहरू किन ओइलाएको साग जस्ता देखिन्छन् ? हो, यस्तो अवस्थामा पार्टीलाई जरैदेखि बलियो बनाउन वडा तथा टोल केन्द्रित पार्टी सुदृढीकरण अभियानको आवश्यकता महसुस गरेर पार्टीले यो अभियान ल्याएको एमालेका नेताहरूको भनाइ रहेको छ । पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूत गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न मिसन ८४ अन्तर्गत यो अभियान चलाउनु परेको एमालेले जनाएको छ ।
यसका लागि केन्द्रीय नेताहरूले अभियानको संयोजन र अनुगमनको जिम्मेवारी पाएका छन् । प्रदेशका नेताहरूले पालिकाको जिम्मेवारी पाएका छन् । जिल्लाका नेताहरूले वडा तहको पालिकाका नेताहरूले टोल तहको र टोल तहका नेताहरूले घरधुरी संख्या तोकेर जनताको घरघरमै पुगेर अभियानका विषयमा बुझाउने छन् । अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहका पार्टी सदस्यताको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक र सैद्धान्तिक प्रशिक्षण दिने उद्देश्य रहेको छ । स्थानीय तहमा उत्पन्न हुनसक्ने अन्तरविरोधको पहिचान गरी समाधान गर्ने, पार्टी र जनप्रतिनिधिबीच वैचारिक, राजनीतिक र संगठनात्मक एकरुपता कायम गर्ने, जनप्रतिनिधिको कामको समीक्षा गर्ने, जनप्रतिनिधि र जनताबीचको सम्बन्ध बलियो बनाउने, नयाँ पुस्तासँग पार्टीलाई जोड्ने, नेता-कार्यकर्ता-जनताबीचको सम्बन्ध सुदृढ गर्ने एमालेको योजना छ ।
जनताका चासो, माग र मुद्दामा जनसंगठनलाई प्रभावकारी ढंगले परिचालन गर्ने, विकास निर्माणका कार्य र जनताका ज्वलन्त समस्यालाई समाधान गर्न पहलकदमी लिने, वडा, पालिकाको विकासको मार्गचित्र निर्माण गर्ने एमालेको यो अभियानको उद्देश्य देखिन्छ । यो तीन महिने अभियानअन्तर्गत विशेष गरी महिला, उत्पीडित समुदाय र नयाँ पुस्तामा पार्टी काम पुर्याउने कार्यलाई महत्व दिएको पाइन्छ । यसबाट जनताबीच पार्टी लोकप्रिय बनाउने, चुनौतीहरूको सामना गर्न र नवीन विचार दिनसक्ने नेता कार्यकर्ताहरूको उत्पादन गर्ने, जनप्रिय कार्यशैली र जीवनशैली अपनाउने, तर्कशील मेहनती, श्रमजीवी र जनपक्षीय नेता र कार्यकर्ता बनाउने लक्ष्य यो अभियानले राखेको छ । यो अभियान मुख्य गरी वडा र टोलमै केन्द्रित हुनेछ । सबै तहका नेता वडा, टोलमै रहेर काम गर्ने योजना बनेको छ । नेताहरू आवश्यकअनुसार टोल कमिटीसम्म पुगेर जनताका समस्या बुझ्नेछन्, गुनासाहरूको पहिचान गर्नेछन् र समाधानका लागि पहलकदमी लिनेछन् ।
केन्द्रीय नेताहरू विभिन्न बहानामा केन्द्रकै वरिपरि, प्रदेशका नेताहरू शहरमै, स्थानीय नेताहरू जिल्ला सदरमुकाम वरिपरि केन्द्रित हुने प्रवृत्तिका कारण पार्टी र जनताबीचको सम्बन्ध पातलिँदै जाँदा पार्टीको साँगठनिक र वैचारिक काम उठ्न सकेन ।
पछिल्ला निर्वाचनहरूमा सोचेअनुरुपको परिणाम नआउनुमा अन्तरघात र अस्वस्थ अन्तरसंघर्ष मुख्य कारण भएको एमालेको निष्कर्ष छ । यो अभियानले जरामै पुगेर यसको उपचार गर्ने उद्देश्य बोकेको छ । पार्टी कामलाई प्रविधि मैत्री बनाउने, नियमित रूपमा जनताको घरघरमा पुग्ने परिपाटीको विकास गर्ने, पार्टी नेतृत्वका सरकारले गरेका कार्य जनताका बीच लैजाने, पार्टीविरुद्ध फैलिएका भ्रमहरूको खण्डन गर्ने, सदस्यता विस्तार गर्ने अर्थात् जगैदेखि पार्टीलाई जनआधारित कार्यकर्ता पार्टी बनाउन तीन महिने विशेष अभियानको उद्देश्य रहेको छ । यस्तै नेकपा एमालेबारे जनता के भन्छन् ? वडा तहमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, व्यवसायीहरू, सञ्चारकर्मीहरू अगुवा नागरिक तथा प्रबुद्ध व्यक्तिहरूसँग सार्वजनिक सुनुवाइ गरी सुझावहरू सूत्रबद्ध गरी केन्द्रमा पठाएन भनिएको छ । यसबाट एमालेले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने जनमत बुझ्न खोजेको देखिन्छ । अभियानले कमिटीका इञ्जिनका पार्टपुर्जा कसकास पार्छ । जगका संगठनको जराको उपचार गर्छ ।
मिसन ८४ को भिजनसहित अघि बढेको एमालेले गत वर्ष मिसन ग्रासरुट अभियान सञ्चालन गरेको थियो । जरामा मलजल नपुगेको अनुभूति गरेको एमालेले चलाएको यो अभियान चिनियाँ नेता माओले आमाबाट पाएको शिक्षासँग मिल्दोजुल्दो देखिन्छ । कुनै समय आमा बिरामी पर्दा बगैंचा हेरचाहको जिम्मेवारी माओले पाएछन् । केही दिनपछि आमा तङ्ग्रिएर बगैंचा पुग्दा डाँठहरू सुकेका र पातहरू पहेलो हुँदै गएका देखिछिन् । छोराले बगैंचा स्याहार नगरेको ठानेर आमा रिसाउँछिन् । दैनिक पात पुछ्दै हाँगाहरू पानीले सफा गरे पनि बोटविरुवाको हालत खराब भएको माओले स्पष्टीकरण दिएछन् । यो सुनेपछि आमाले भनिछन्– ‘तिमी मेहनत गर्छौ, तर सही ठाउँमा गरेनछौ । जरामा पानी हालेको भए हाँगा र पात सुक्दैनथ्यो ।’
यो अर्तीपछि माओले चीनको जरा ग्रामीण किसानबाट क्रान्ति सुरु गरे र यसकै जगमा जनगणतन्त्र चीनको स्थापना भयो । त्यस्तै एमालेले अहिले सञ्चालन गरेको यो विशेष अभियानले जराको उपचार गर्नेछ, जरामा मलजल राख्नेछ । जराको उपचार सकिएपछि रोग जरामा रहेछ कि हाँगा वा डाँठमा ? पत्ता लाग्नेछ । हुनसक्छ, जराको उपचारपछि रोग जरामा रहेछ कि हाँगामा वा डाँठमा ? पत्ता लाग्नेछ । हुनसक्छ जराको उपचारपछि रोग त हाँगामा र डाँठमा पो रहेछ । त्यहाँ पनि उपचारको जरुरी छ ।
यो पत्रिका पनि हमाले पार्टी को झोले पत्रिका रैछ । धत् मार्क्सबादीहरू !!