नेकपा एसको अनेरास्ववियू विवादमा, अर्को केन्द्रीय समिति घोषणा गर्ने चेतावनी – Nepal Press

नेकपा एसको अनेरास्ववियू विवादमा, अर्को केन्द्रीय समिति घोषणा गर्ने चेतावनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूमा विवाद देखिएको छ । संगठनको केन्द्रीय कार्यालयबाट शुक्रबार संगठनका महासचिव महेश श्रेष्ठको अध्यक्षतामा घोषण भएको टिमप्रति संगठन कार्यालय टिम पदाधिकारी एवम प्रदेशका अध्यक्षले विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन् ।

देशै भरिका संगठनका निष्ठावान नेता तथा कार्यकर्ताको संगठन प्रतिको चिन्ता र चासोलाई मध्यनजर गर्दै जतिसक्दो चाडैँ केन्द्रीय कमिटी घोषणा गरिने पनि विज्ञप्तीमार्फत चेतावनी दिइएको छ ।

नेतृत्व चयन एकदमै अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश, हठ र गुटगत मानसिकताका साथ गरिएको भन्दै शुक्रबार संगठनका कार्यालय सदस्य, विभिन्न प्रदेशका अध्यक्ष एवम निवर्तमान पदाधिकारीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो विश्वास र भरोसा विपरीत संगठनको केन्द्रीय कार्यालयको बैठकबाट अत्यन्त अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश, हठ र गुटगत मानसिकताका साथ नेतृत्व चयन गरिएको दावी प्रति हामी घोर आपत्ति व्यक्त गर्दछौं । संगठनलाई सामुहिकतामा प्रवेश गर्न नदिने र झन संकीर्ण जडतामा कैद गर्ने यस्तो निर्णय शत प्रतिशत गलत भएको हाम्रो सामुहिक निष्कर्ष छ ।’

विज्ञप्तीमा केन्द्रीय कार्यालय सदस्य भुपेन्द्र शाह, नरेश न्यौपान, मिलन राइ, निवर्तमान सचीव एवं कोशी प्रदेश कमिटी अध्यक्ष शम्भु घिमिरे, मधेस प्रदेश कमिटी अध्यक्ष राजकुमार विक, बागमती प्रदेश कमिटी अध्यक्ष दिपक बुढाथोकी, उपत्यका विशेष प्रदेश अध्यक्ष प्रदिप थापा, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष टेकेन्द्र मल्ल, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष पुष्पलाल रोकाया ‘ज्वाला’ लगायतको हस्ताक्षर रहेको छ ।

यस्तै निवर्तमान सचिव राजेश खड्का, प्रकाश श्रेष्ठ, सुमन कार्की, राजकुमार लामिछाने, निशान कार्की, लोककृष्ण दाहाल, निर्वाचन आयोगका अध्यक्ष बालकिशोर माझी र आर्थिक विभाग प्रमुख रामचन्द्र गौतमले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर