धनुषाको कमलामाई क्रसरमा मधेशका मुख्यमन्त्री सिंहको छापा, स्टक प्रमाणीकरण नहुँदासम्म उत्पादन नओसार्न निर्देशन – Nepal Press

धनुषाको कमलामाई क्रसरमा मधेशका मुख्यमन्त्री सिंहको छापा, स्टक प्रमाणीकरण नहुँदासम्म उत्पादन नओसार्न निर्देशन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योगलाई स्टक प्रमाणीकरण नहुँदासम्म उत्पादन नओसार्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंह धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीसहितलाई लिएर आज साँझ कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण गरेका हुन् । नदीजन्य पदार्थको अवैध दोहन आशंकामा क्रसर उद्योगबाट तत्काल उत्पादन न ओसार्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

उनले उद्योगमा सञ्चित रहेको ढुङ्गा, गिट्टी र बालुवाको स्रोत तथा तिनको वैधता प्रमाणीकरण नहुँदासम्म ओसारपसार गरेमा कारबाही गर्ने चेतावनी समेत दिए ।सोमबार स्थानीय तहसंग छलफल र अन्य प्रमाणीकरणका विषय टुङ्गो लगाउने र त्यसपछि मात्र क्रसर सञ्चालन गर्न दिइने उनको भनाई छ ।

उनले क्रसर उद्योगको दर्ता, नवीकरण, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, ढुङ्गा, गिट्टी र बालुवाको परिमाणत्मक सञ्चिति, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेखित मापदण्डअनुसारका ठाउँमा खोला खनिएको÷नखनिएको, खोला खन्दाको ठाउँ र गहिराइ, परिणाम, सञ्चिति प्रमाणीकरण लगायतका विषयमा जानकारी लिएका छन् ।

कमला खोलाबाट वषौँदेखि भइरहेको नदीजन्य पदार्थको अवैध उत्खनन्का कारण नदी प्रणालीमा प्रतिकूल असर परेको छ । क्रसर उद्योगले जेसिभीलगायत उपकरणबाट जथाभाबी र ठूलो परिमाणमा खनिएका नदीजन्य पदार्थ स्थानीयका ट्याक्टरमार्फत क्रसर उद्योगसम्म ओसार्ने गरेका छन् ।

वालुवा प्रशोधन केन्द्रको अनुमति लिई क्रसर उद्योगहरू सञ्चालनमा छन् । अधिकांश क्रसर उद्योग मापदण्डविपरीत वनक्षेत्र, स्वास्थ्यसंस्था, पुलपुलेसा, खोलानदी आदिबाट नजिक संचालनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर