सामाजिक सञ्जाल विधेयकको कडा समर्थनमा मुकुल ढकाल, आजै लेखे ११ वटा स्टाटस – Nepal Press

सामाजिक सञ्जाल विधेयकको कडा समर्थनमा मुकुल ढकाल, आजै लेखे ११ वटा स्टाटस

काठमाडौं । सामाजिक सञ्जालमा अत्यधिक गाली खाने नेताहरुको सूचीमा थपिएका नयाँ नाम हुन् डा. मुकुल ढकाल । सायद यही भएर हुनुपर्छ उनी सरकारले अघि सारेको सामाजिक सञ्जालसम्वन्धी विधेयकको कट्टर समर्थनमा उभिएका छन् । सत्तारुढ पार्टीका नेताहरुले भन्दा पनि बढी मुखर भएर उनी विधेयकको प्रतिरक्षा गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री ढकाल अनुशासन उल्लंघनको आरोपमा पार्टीबाट निकालिएका थिए । महामन्त्री भएको लामो समयसम्म उनी लो प्रोफाइलमै थिए ।

तर, सभापति रवि लामिछानेसँग पंगा लिन थालेपछि उनी ह्वात्तै चर्चा र विवादमा आए । त्यसयता सामाजिक सञ्जालमा उनका हेटर्सहरु ह्वात्तै बढेका छन् । उनले लेख्ने स्टाटासहरुमा सकारात्मक प्रतिक्रिया कमै भेटिन्छन् ।

अहिले सरकारले ल्याएको विधेयकले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै रास्वपाले विरोध जनाएको छ । डा. ढकाल भने ठीक उल्टो लाइनमा खडा भएका छन् । यो विधेयक अत्यावश्यक रहेको र रास्वपाकै नीतिसँग मेल खाने उनको दावी छ ।

रास्वपाबाट निकालिएपछि अलि फुर्सदिला बनेका छन् ढकाल । त्यही भएर होला उनले आजै मात्र फेसबुकमा १० वटा स्टाटस लेख्न भ्याइसकेका छन् । घन्टैपिच्छे उनको नयाँ नयाँ स्टाटस आइरहेको छ । यी सबै स्टाटस सामाजिक सञ्जाल विधेयकसँगै सम्बन्धित हुन् ।

एउटा स्टाटसमा ढकाल लेख्छन्, ‘त्यतिबेला रास्वपाले माग गरेजस्तै सरकारले टिकटक लगायतका सामाजिक सञ्जाल बन्द होइन नियमन गर्ने विधेयक प्रस्ताव गरेको छ । विरोधमा उत्रिएका छन्, प्रचण्ड र क्लवका सदस्यहरू । उफ् । यिनीहरूको दोगलापना । म आज पनि भन्छु, ‘सामाजिक सञ्जाल बन्द होइन, नियमन गर ।’

युट्यूवका केही कन्टेन्ट क्रियटरहरुले यो विधेयकको विरुद्धमा सुरु गरेको अभियानको ढकालले आलोचना गरेका छन् । उनीहरुले आफ्नो भ्यूजका लागि नाजायज तर्क गरेर समाजमा अनावश्यक प्रपोगण्डा फैलाइरहेको उनको दाबी छ ।

एउटा स्टाटसमा ढकाल लेख्छन्, ‘विधेयकले सामाजिक सञ्जालमा मुख छाड्न, तथानाम बोल्न नियन्त्रण गरेको छ । आफ्नो व्यक्तिगत दुनियाँमा एकअर्का साथीसँग जे गरे पनि मतलव हुने कुरा भएन, तर सारा संसारले देख्ने गरी अर्कोलाई मुख छाड्दै हिँड्ने प्रवृत्ति नियन्त्रण हुनै पर्छ । थुप्रै कलाकारदेखी सामाजिक व्यक्तित्वहरू र आम जनतासम्म यसको शिकारमा परेका छन् । साइबर सेना बनाइ मान्छेको चरित्र हत्या गर्न लागिपरेका छन् । र त्यस्तो प्रवृत्तिले दण्ड पाउनै पर्छ ।’

‘मनपरितन्त्र गर्न पाइन्न, साइबर सेना राखेर सामाजिक सञ्जाल आफ्नो नियन्त्रण गर्न पाइन्नँ, मेरो यति लाख फलोअर छन् लेख्दिम भनेर ब्लाकमेल गर्न पाइन्न भन्ने डरले विरोध गरिरहेका छन् । सचेत बन्नुहोस्, सामाजिक सञ्जालको दुरूपयोगलाई रोक्न ल्याइएको कानूनको समालोचना गर्नुहोस् तर यो हौवाको पछाडी नलाग्नु होला । संसदीय प्रक्रियाबाट विधेयकमा सुधार गर्ने ठाउँ त छँदैछ तर जसरी विधेयकको विरूद्ध नै साइबर सेना खटाउन थालिएको छ, आम नागरिकलाई सचेत बन्नलाई आग्रह गर्दछु’, उनले भने ।

ढकालका फेसबुक स्टाटसहरु सत्तारुढ पार्टीका नेता–कार्यकर्ताहरुलाई खुब टेस परिरहेको छ । धेरैले उनको स्टाटस सेयर पनि गरेका छन् । यद्यपि, उनको स्टाटसमा आएका कमेन्टहरु भने अधिकांस नकारात्मक छन् ।

कतिले उनलाई गाली खानबाट जोगिनका लागि यो विधेयकको समर्थन गरेको आरोप लगाएका छन् त कतिले एमाले प्रवेश गर्न बाटो बनाइरहेको दावी पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर