मुख्यमन्त्री सिंहको निर्देशनमा जनकपुरका थप दुई अस्पतालमा ताला – Nepal Press

मुख्यमन्त्री सिंहको निर्देशनमा जनकपुरका थप दुई अस्पतालमा ताला

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा दर्ता बिना सञ्चालनमा रहेका जनकपुरधामका थप दुई अस्पताल बन्द भएको छ ।

मुख्यमन्त्री सिंहको निर्देशनमा जनकपुरधाम उपमहानगरपालिका ९ रामानन्द चौकस्थित अरमान हस्पिटल र जनकपुरधामकै बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर बन्द भएको हो । यी दुबै अस्पताल कुनै निकायमा दर्ता नरहेपनि लामो समयदेखि सञ्चालनमा थियो ।

मुस्कान अस्पतालमा पित्तथैलीको अप्रेशन गराएकी सर्लाहीकी एक महिलाको २० दिनसम्म होस् खुलेनन् । उनको अप्रेशनमा डाक्टरले लापरबाही गरेको विषय बाहिरिएपछि मुख्यमन्त्री सिंह शुक्रवार दुई पटक निरीक्षण गरे ।

निरीक्षणका क्रममा अस्पताल कुनै निकायमा दर्ता नरहेको र अन्य मापदण्ड पनि पालना नगरेको पाइएपछि तत्कालै बन्द गर्न मुख्यमन्त्रीले निर्देशन दिए । निर्देशन अनुसार अस्पताल प्रशासनले उपचाररत विरामीहरुलाई अन्यत्र सारे र अस्पताल बन्द गरी साँचो मुख्यमन्त्रीलाई बुझाए ।

जनकपुरधाममा अधिकांश अस्पताल दर्ता बिना सञ्चालनमा रहेको र मापदण्ड समेत पालना नगरेको गुनासोपछि मुख्यमन्त्री सिंह शनिवार २० अस्पतालमा निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा विएन हस्पिटल एण्ड रिसर्च सेन्टर र अरमान हस्पिटल पनि दर्ता नरहेको खुलेपछि मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिए । उनको निर्देशनपछि आजदेखि अस्पतालमा सञ्चालकले स्वयंम ताला लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *