प्रधानमन्त्रीलाई प्रश्न–तेजुलाल चौधरी नेपाल सरकारका मन्त्री कि श्री ५ को सरकारका ? (प्रमाणसहित) – Nepal Press

प्रधानमन्त्रीलाई प्रश्न–तेजुलाल चौधरी नेपाल सरकारका मन्त्री कि श्री ५ को सरकारका ? (प्रमाणसहित)

मन्त्री भन्छन्–मैले के के कागजमा सही गरेँ थाहा छैन, मन्त्रालयका सचिव भन्छन्–स्काउटको नियमावलीमा श्री ५ को सरकार लेखिएको हो भने गम्भीर गल्ती

काठमाडौं । पञ्चायत र वहुदलकालमा काम गरेका वा त्यो युगमा हुर्किएका मान्छेहरुले झुक्किएर श्री ५ को सरकार भन्नुलाई जिब्रो रड्किएकोसम्म मान्न सकिएला । यसअघि तत्कालीन खानेपानी मन्त्री मणी थापाले भाषण गर्ने क्रममा २०७७ माघमा श्री ५ को सरकार भनेपछि सार्वजनिकरुपमा माफी मागेका थिए ।

२०८० भदौमा संसदमा बोल्ने क्रममा आम जनता पार्टीका सांसद प्रभु साहले पनि झुक्किएर श्री ५ को सरकार भन्दा एमाले सांसद सुर्य थापाले नियमापत्ति गरेपछि उनले माफी मागेका थिए भने संसदको रेकर्डबाट श्री ५ को सरकार भन्ने शब्द हटाइएको थियो ।

तर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भने सरकारी निर्णयको लिखतमै श्री ५ को सरकार भन्ने शब्द राखेर त्यसमा आफ्नो आधिकारिक हस्ताक्षर गरेको दस्तावेज मातहत कार्यालयमा पठाएको पाइएको छ ।

नेपाल स्काउट कर्मचारी नियमावली मन्त्रालयबाट संशोधन गर्ने क्रममा मन्त्री आफैंले श्री ५ को सरकार भन्ने शब्द प्रयोग गरेका हुन् ।

असावधानीबश भएको भए अहिलेसम्म सो नियमावली फिर्ता गरेर अर्को परिपत्र गरिनुपर्ने हो । तर मन्त्रीले हस्ताक्षर गरेको नियमावली नै नेपाल स्काउटलगायत मातहत कार्यालयमा कायमै रहेको छ ।

यो नियमावलीको एक प्रतिसहित केही कर्मचारीले प्रधानमन्त्रीलाई हुलाकमार्फत पठाएर सोधेका छन्,‘प्रधानमन्त्रीज्यू, तेजुलाल चौधरी नेपाल सरकारको मन्त्री कि श्री ५ को सरकारको ?नेपाल स्काउटको संरक्षक प्रधानमन्त्री नै रहने भएकाले समेत यो पत्र पठाइएको ती कर्मचारीले बताए ।

मन्त्रीकै संलग्नतामा नेपाल स्काउटमा भाँडभैलो मच्चिएका बेला श्री ५ को सरकारको फण्डामा उनी आफैं संलग्न भएका छन् ।

गोलमाल नै गोलमालको नियमावली

खेलकुद मन्त्री चौधरीले एजेण्डामा नै नभएको बैठकको निर्णय भन्दै नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२( प्रथम संशोधन २०५८, दोस्रो सशोधन २०६४ समेत, तेस्रो संशोधन २०८१) जारी गरेका छन् ।

मन्त्रालयले नेपाल स्काउट राष्ट्रिय परिषद् बैठक २०८१ कार्तिक १० गतेको निर्णय न. ५ (ख) बाट पारित गरि लागू भएको भन्दै कार्तिक ११ गते मन्त्री चौधरीले प्रमाणित गरेका थिए । मन्त्रीले प्रमाणित गरेसँगै नियमावली स्वत जारी हुन्छ ।

राष्ट्रिय परिषद्को बैठकको निर्णय भन्दै जारी भएको नियमावली नेपाल स्काउटमा पठाइएको छ । जबकी कर्मचारी सेवा नियमावली कार्तिक १० बैठकमा एजेन्डा नै थिएन । यो विषयमा कुनै पनि राष्ट्रिय परिषद्को सदस्यलाई जानकारी नै छैन ।

अझ रोचक त के छ भने, उक्त नियमावली कार्यकारी सदस्य र राष्ट्रिय परिषद् सदस्यहरुसँग छलफल नै नगरी पारित गरेको पाइएको छ । त्यहि नियमावलीका ठाउँ ठाउँमा श्री ५ को सरकार भन्ने शब्द प्रयोग भएको छ ।

नियमावलीबारे न त कार्यकारी समितिलाई जानकारी छ न त राष्ट्रिय परिषद्का सदस्यहरुलाई नै जानकारी छ । १० गतेको निर्णय भन्दै ११ गते नै नियमावली जारी भएको देखिन्छ ।

मन्त्री चौधरीले बैठकको एजेण्डामै नभएको नियमावली आफनो मान्छे नियुक्त गर्न सहज हुने गरी प्रावधान राखेर नियमावली जारी गरि सोही अनुरुपम कार्तिक २८ गतेदेखि नै करारमा कर्मचारी भर्ना समेत गरिसकेका छन् ।

मन्त्रीले श्री ५ को सरकार भनेपछि‍‍…

चौधरीलाई नेपाल सरकारका प्रधानमन्त्रीले खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन् । तर, उनै मन्त्रीले जारी गरेको नियमावलीमा भने श्री ५ को सरकार भन्ने शब्द राखेका छन् ।

परिषद् सदस्यहरुलाई जानकारी नै नदिइ पारित गरेको नियमावलीमा श्री ५ को सरकार भनेर उल्लेख गरिएको छ । नेपाल सरकारका मन्त्री चौधरीले नै श्री ५ को सरकार शब्द राखेको नियमावली कर्मचारीहरुल कार्यालयमा आइपुगेपछि मात्रै नियमावली संशोधन भएर आएको चाल पाए ।

तर, नियमावली संशोधन हुनुको साटो २०५२ साल अघिकै नियमावली कपि पेस्ट भएको पाइएको छ । कपी पेष्ट गर्ने क्रममा श्री ५ को सरकार पनि हुबहु परेको र त्यसमा मन्त्रीले हस्ताक्षर गरेको देखिन्छ ।

 

नियमावलीको दुई वटा अनुसूचीहरुमा नेपाल सरकारको उल्लेख गर्नुपर्नेमा श्री ५ को सरकार भनेर लेखिएको छ ।

अनुसूची ४ (क) को कार्यसम्पादन फारम १ मा मूल्यांकन फारमको नमुना ‘श्री ५ को सरकारको प्रचलनमा ल्याइएको अनुसार नै हुनेछ’ भनेर उल्लेख छ । उक्त अनुसूचीमा मन्त्री तेजुलाल चौधरीले हस्ताक्षर गरेका छन् । नेपाल सरकारको मन्त्रीले श्री ५ सरकारको अनुसूची लागू गरेको पाइएको छ ।

त्यस्तै अनुसूची ४ (ख) को कार्यसम्पादनसम्बन्धी मूल्यांकन फारमको निर्देशिका ३ मा ‘कार्य सम्पादन मूल्यांकन फारम श्री ५ को सरकारले प्रचलनमा ल्याएको फारम नै हुनेछ’ भन्ने उल्लेख छ । कार्तिक ११ गतेको बैठकको निर्णय भनेर ‘श्री ५ को सरकारसम्बन्धी नियमावली’ मन्त्री चौधरीले नै प्रमाणित गरेका छन् ।

श्री ५ को सरकार लेखिएको उक्त नियमावलीको अनुसूचीका बुँदामा मन्त्री चौधरीले हस्ताक्षरसहित मन्त्रालयको छाप समेत लगाएका छन् ।

मन्त्रालयका सचिव भन्छन्– ठूलो गल्ती हो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्सालले परिषद्ले नियमावली तयार गरेकाले आफूहरुलाई जानकारी नभएको भन्दै अनविज्ञता प्रकट गरे ।

उनले नेपाल प्रेससँग भने,–‘त्यो परिषद्ले आफूले गरेको हुनसक्छ । के रहेछ म बुझछु । मन्त्रालयबाट फाइल उठेर निर्णय भएजस्तो लाग्दैन । परिषद्ले गरेको भएपनि त्यो ठूलो गल्ती हो । त्यस्तो गल्ती गर्न पाइदैन ।’

उनले यस विषयमा गल्ती सुधार गर्न परिषद्लाई भन्ने बताए । परिषदको भनिएको निर्णयमा मन्त्रीको हस्ताक्षर र मन्त्रालयको छाप छ ।

मन्त्री चौधरी भन्छन्, मलाई थाहा भएन

खेलकुदमन्त्री तेजुलाल चौधरीले आफूले हस्ताक्षर गरेको नियमावलीमा श्री ५ को सरकार शब्द लेखेकोबारे आफूलाई जानकारी नभएको बताए ।

उनले नेपालप्रेससँग भने,‘संशोधन भइसकेको नियामावलीमा श्री ५ को सरकार भन्ने शब्दबारे मलाई जानकारी नै छैन । कहाँकहाँ केके लेखेको हुन्छ मलाई थाहा हुँदैन । ऐनमा नै श्री ५ को सरकार छ अहिले पनि सार्दा खेरि त्यही भयो होला । म हेरौंला ।’

ऐनमा नै सोही उल्लेख भएकाले नियमावलीमा त्यही लगेको उनको दाबी छ । अहिले मैले काटेर हुँदैन । परिषद्ले नै काट्ने हो । अब परिषद्को बैठक बसेर यसलाई संशोधन गछौं ।’ उनले नियमावलीमा भएको सुत्केरी बिदा ६० दिन राखिएको विषयमा पनि जानकारी नभएको बताए ।

याे पनि पढ्नुहाेस्  ।

स्काउट यसरी तहसनहस पार्दैछन् मन्त्री चौधरी, संरक्षक खोज्दै प्रधानमन्त्री गुहार्ने तयारी

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर