काठमाडौंमा ४ वर्षीय बालकको अपहरण : चिप्स दिएर फकाए, गेस्ट हाउसमा लुकाए – Nepal Press

काठमाडौंमा ४ वर्षीय बालकको अपहरण : चिप्स दिएर फकाए, गेस्ट हाउसमा लुकाए

भियतनामी अपहरणकारीले काटिसकेका थिए वीरगञ्जका लागि दुई टिकट

काठमाडौं । ललितपुरमा ४ वर्षीय बालक अपहरण गर्ने एक भियतनामी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भियतनामका २३ वर्षीय माइ होङ किन्लाउन रहेका छन् ।

गत बिहीबार राति ८ः२० मा ललितपुरको ललितपुर महानगरपालिका- १२ पाटनबाट सरिता तामाङको ४ वर्षीय जिरे भनिने पल चेपाङ हराएका थिए ।

उनले आफ्नो छोरा हराएको भन्दै खोजतलास गरी पाउँ भनी निवेदन दिएकी थिइन् । अनुसन्धानको क्रममा ४ वर्षीय बालकलाई अपहरण गरी कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै रहेको इलाम मेची गेष्ट हाउसको कोठामा बन्धक बनाइ राखेको अवस्थामा परेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बालकलाई सकुशल उद्धार गरी अपहरण कार्यमा संलग्न रहेका भियतनामी युवकलाई पक्राउ गरेकाे हाे । भियतनाम चाईवाङ सिटी घर भएका किन्लाउन कलंकीमा बस्दै आएका थिए ।

उनको साथबाट विभिन्न कम्पनीका मोबाइल ३ थान, ल्यापटप १ थान, भियतनामी मुद्रा डोङ, नक्कली भारतीय आधारकार्ड २ थान, बसको टिकट १ थान, चक्कु १ थान बरामद भएको छ ।

 चकलेट दिएर फकाए 

अपराध कार्यालयका सूचना अधिकारी काजीकुमार आर्चायका अनुसार गत डिसेम्बर २५ मा क्रिसमस मनाउने सिलसिलामा पाटनको कृष्ण मन्दिर प्राङ्गणमा बच्चाको दाइसँग भियतनामी युवककाे भेट भएकाे थियाे । उनले चिप्स, चकलेटहरू दिएर दाजुभाइसँग निकटता बढाएका थिए । त्यसपछि पनि पटकपटक उक्त स्थानमा गई बालकसँग खेल्ने र खानेकुरा दिई नजिकिने गरेको अनुसन्धानको क्रमबाट खुलेको छ ।

माघ २४ गते साढे ८ बजे पाटन मंगलबजारबाट ४ वर्षीय बालक जिरे भन्ने पल चेपाङ हराएको भनी निजको आमा सरिता तामाङले खोजतलासको लागि प्रहरी प्रभाग मंगलबजारमा निवेदन दिएकी थिइन् । उनको उजुरीपछि प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा सम्भावित चोकमा रहेको सीसीटीभी फुटेज संकलन गरेको थियो ।

सीसीटीभी विश्लेषण गर्दा बालक हराएकै रात साढे ८ बजे कृष्ण मन्दिर नजिकै ढालचा चोकबाट अपरिचित व्यक्तिले बालकलाई लिई ट्याक्सीमा चढेको देखिएको थियो । शुक्रबार बेलुका साढे ७ बजे काठमाडौंबाट वीरगञ्ज जाने न्यू साजनको एसी बस नं ६८१८ को सीट नं ३ र ४ नम्बरको टिकट बुक गरिएकाे थियाे ।

उनले वीरगञ्ज लैजाने योजना बनाई तयारी गरिरहेको अवस्थामा कलंकी स्थित मकालु पेट्रोल पम्पनजिक रहेको इलाम मेची गेष्ट हाउसको कोठामा बालकलाई बन्धक बनाई राखेको प्राविधिक अनुसन्धानबाट खुलेको थियो ।

उक्त गेष्ट हाउसको कोठा नम्बर १०७ बाट बालकलाई सकुशल उद्धार गरी अपहरण कार्यमा संलग्न भियतनामी युवकलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको अपराध कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर