प्रहरीले खोज्न थाल्यो जागिर छाड्नुको कारण, देशभरका युनिटलाई पठाइयाे यस्ताे प्रश्नपत्र

काठमाडौं । अवकाश अवधि नपुग्दै जागिर छाड्ने लहर बढेपछि नेपाल प्रहरीले त्यसको कारण खोजी गर्न थालेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले माघ २४ को मितिमा देशभरका प्रहरी युनिटलाई पत्राचार गर्दै उक्त कारणको खोजी शुरु गरेको हो । मानवस्रोत विकास विभागको वृत्ति विकास महाशाखाले तयार पारेका विभिन्न प्रश्नावलीका साथमा आफ्ना कर्मचारीको मनस्थिति अध्ययन गर्न लागेको छ ।
संगठनमा आवद्ध प्रहरीका निराशा वा गुनासो व्यवस्थापन गर्ने कर्तव्य नेतृत्वको हुने कारण अवकाशअघि राजीनामा जाने प्रवृत्तिको अध्ययन गर्न थालिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए ।
‘प्रहरी जनशक्ति निराश हुनुहुँदैन, यदि कोही निराश छन् भने त्यसको कारण हामीले पहिल्याउनै पर्छ’, आचार्यले भने ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०-०८१ र २०८१-०८२ मा १६ सय ८२ प्रहरीले राजीनामा दिएका थिए । त्यसमध्ये निवृत्तिभरणको सुविधा पाउने गरीभन्दा नपाउने गरी राजीनामा दिनेको संख्या बढी छ ।
आर्थिक वर्ष २०८०-०८१ मा ७ सय १९ प्रहरीले राजीनामा दिएका थियो । आर्थिक वर्ष २०८१-०८२ मा यो संख्या सयका दरले बढेर ८ सय १९ पुग्यो ।
आर्थिक वर्ष २०८०-०८१ मा ४ एसएसपी, १ एसपी, ३ डीएसपी र ४ इन्स्पेक्टरसहितले राजीनामा दिएका थिए । आर्थिक वर्ष २०८१-०८२ मा १-१ एसएसपी र एसपी, ३ डीएसपी र ५ इन्स्पेक्टरसहितले राजीनामा दिएका थिए ।
राजीनामा दिनेको संख्या भने इन्स्पेक्टरभन्दा तलको दर्जामा बढी छ ।
आर्थिक वर्ष २०८०-०८१ मा २५ वरिष्ठ सई, ४३ सईले राजीनामा दिँदा असईको संख्या १ सय ६७ पुग्यो । १ सय ६९ वरिष्ठ हवल्दार, ६० हवल्दार, १ सय २३ सहायक हवल्दार, १ सय ४६ जवान तथा ४६ कार्यालय सहयोगीले उक्त आर्थिक वर्षमा राजीनामा दिएका थिए ।
यो संख्या अर्को आर्थिक वर्षमा बढ्यो । आर्थिक वर्ष २०८१-०८२ मा ११ र १२ जना वरिष्ठ सई र सईले राजीनामा दिँदा असईको संख्या ९० पुग्यो । त्यस वर्ष २ सय ३९ वरिष्ठ हवल्दार, ३ सय ५२ हवल्दार, ३४ सहायक हवल्दार, १ सय १३ जवान र ३० कार्यालय सहयोगीले राजीनामा दिए ।
राजीनामा दिनेमध्ये हवल्दार, सहायक हवल्दार, जवान र कार्यालय सहयोगीको निवृत्तिभरण (पेन्सन) अवधि नै पुगेको हुँदैन ।
पेन्सन पाउने गरी राजीनामा दिने प्रहरी आर्थिक रूपमा सुरक्षित हुन्छन् । तर, आर्थिक सुरक्षा पनि ख्याल नगरी जागिर छाड्ने कारण के हुनसक्छ भनी प्रधान कार्यालयले अध्ययन अगाडि बढाएको प्रहरीस्रोतले बतायो ।
प्रहरी तालिम लिएको प्रमाणपत्रका आधारमा विभिन्न मुलुकमा सेक्युरिटीको काममा जानेको संख्या उत्तिकै रहेको प्रहरीस्रोतले जनायो ।
हालै अवकाशप्राप्त एआईजी भीमप्रसाद ढकालका अनुसार सानो दर्जाका प्रहरीले वैदेशिक रोजगारीकै लागि जागिर छाड्ने गरेको बताए ।
‘यहाँ जति तलब र सुविधा छ, उनीहरूलाई त्यो पर्याप्त भएन’, उनले भने, ‘सुरक्षा तालिमप्राप्त जनशक्तिका निम्ति विदेशमा आकर्षक तलब र सुविधा भएका कारण उनीहरू त्यसतर्फ आकर्षित हुन्छन् ।’
jagir xadnu ko karan force vitra team work n leadership ramro nahunu,12 ghanta vanda vanda badhi kam garna parnu,extra activity ramro nahunu,bidesh ko lalaach hunu….jagir xadera khadi jana lako ho vane paxutauxan….5,10 % lai matrai bidesh ko laav hunxa baki sabai paxutauxan….