नागार्जुनका मेयरलाई अर्को मुद्दा, गैरकानूनीरूपमा साढे ८ करोड बढी कमाएको अख्तियारको ठहर


काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा परेको छ ।
गरैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले ८ हरोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख बस्नेतले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीपछि अनुसन्धान गर्दा बस्नेत र उनका एकाघर परिवारका सदस्यले ८ करोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको देखिएकाले मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बस्नेत र उनको परिवारले अनुसन्धान अवधिमा २८ करोड ६५ लाख ६१ हजार ९६७ रूपैयाँ खर्च तथा लगानी गरेको जाँच अवधिको कूल समग्र आयबाट त्यसै अवधिको कूल खर्च तथा लगानी घटाउँदा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
यसअघि पुस १४ गते अख्तियारले २२ करोडभन्दा बढी बिगो दाबीसहित घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा बस्नेत, उनकी पत्नी उर्मिला र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलका साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालि प्रतिवादी छन् ।
बस्नेत नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापतिसमेत छन् ।