वर्षमानले अनौपचारिक कुराकानीलाई सार्वजनिक खपतको विषय बनाएको पोखरेलको टिप्पणी – Nepal Press

वर्षमानले अनौपचारिक कुराकानीलाई सार्वजनिक खपतको विषय बनाएको पोखरेलको टिप्पणी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यादेशमा सहयोग खोज्दै आफूलाई फोन गरेको माओवादी नेता वर्षमान पुनको दाबी सार्वजनिक खपतको विषयमात्र भएको टिप्पणी गरेका छन् । वर्षमानले शनिबारमात्रै पोखरेलले आफूलाई टेलिफोन गरेर अध्यादेशको विषयमा सघाउन याचना गरेको बताएका थिए ।

आइतबार सामाजिक सञ्जालमार्फत् पोखरेलले आफूले राजनीतिक कुरा गर्न चाहे सिधै प्रचण्डसँग गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘नेताहरूका बीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो । पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ । अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन ।’

‘उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ । तर, त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुने कुरा हो । जहाँसम्म उहाँसँग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ । मसँग उहाँले गरेको कुराकानी र सम्प्रेषित समाचार पूर्णतः फरक पनि छ । तर, अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिनँ’, पोखरेलले भनेका छन्,‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत नै हुने थियो । आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ । जस्तो संक्रमणकालीन न्यायको विषयमा ।’

पोखरेलले विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो । अब पुनः त्यही काम गर्नु उचित हुँदैन । कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अबको बाटो भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर