प्रहरी हवलदारसँग निकट किशोरीको अवस्था चार महिनासम्म पनि अज्ञात
सीआईबीबाट पनि सुल्झिएन घटना, अनुसन्धान जारी

कैलाली । असोज २५ गते बिहानदेखि बेपत्ता बैतडी पञ्चेश्वर गाउँपालिका- २ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन । किशोरी हराएको ४ महिना बितिसक्दा पनि उनको अवस्था अज्ञात रहेको छ ।
किशोरी खोजीमा सक्रिय प्रहरी टोलीले अहिलेसम्म कुनै प्रगति गर्न सकेको छैन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि घटनामा कुनै प्रगति नभएपछि फर्किएको थियो ।
घटनाको अनुसन्धानको लागि उक्त टोली जिल्लामा पुगेको थियो । करिब एक सातासम्म अनुसन्धान गर्दा पनि घटना नसुल्झिएपछि अहिले केन्द्रबाटै उक्त टोलीले घटनासँग सम्बन्धित तथ्य र प्रमाणका विषयमा अनुसन्धान गरिरहेको छ ।
‘बेपत्ता किशोरी अझै फेला पर्नु भएको छैन’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र विष्टले भने, ‘हामीले पनि अनुसन्धान गरिरहेका छौँ । (सीआईबी) को टोलीले फर्कियो । अहिले बरामद मोबाइल लगायत अन्य प्रमाणहरूबाट पनि विश्लेषण र छानबिन गरिरहेको छ ।’
किशोरी बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी थिइन् । उनको ग्यालेन र डोरी भेटिएको छ, तर किशोरीको अवस्था अज्ञात रहेको छ ।
किशोरीलाई बेपत्ता पारेको आरोप महाकाली प्रहरी चौकीका तत्कालीन प्रहरी हबलदार कृष्णराज जोशीमाथि लागेको छ । असोज २५ गते भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका जोशीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
उनी अहिले पूर्वपक्षका लागि थुनामा छन् । उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किशोरीको परिवारले जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।
बेपत्ता भएकी किशोरीसँग प्रहरी हबलदार जोशीको सम्पर्क रहेकाले उनले नै बेपत्ता पारेको आफन्तले आरोप लगाएका छन् ।
उनले प्रहरीलाई दिएको बयानमा बिहान आफूसँग भेट भएको बताएका छन् । त्यसपछि आफूलाई जानकारी नभएको उनको भनाइ छ ।
‘हामीबीचको सम्बन्धबारे मेरो परिवारले थाहा पायो, अब के गर्ने’, बिहान करिब ५ः३० बजे हबलदारलाई भेटेर किशोरीले भनेकी थिइन् ।
‘अहिले म केही गर्न सक्दिनँ २–४ दिन रोक, केही गरौँला’, हबलदारले भनेका थिए ।
‘त्यस्तो नभन्नुहोस्, मलाई गाह्रो हुन्छ’, यति भन्दै किशोरी बाटो लागेपछि आफू आएर सुतेको हवलदारले बयान दिएका छन् ।
पानी पँधेरो एउटै ठाउँमा गर्ने र चौकी नजिकै घर हुँदा चिनजान भएको हबलदार जोशीले प्रहरीसमक्ष बताएका छन्, तर स्थानीयले भने किशोरी बेपत्तामा हबलदारको संलग्नता रहेको आरोप लगाएका छन् ।
उनीहरुबीचको निकटता झल्काउने गरी उनको मोबाइलमा ती किशोरी र उनका संयुक्त तस्बिर भेटिएका छन् ।
निकट भएका व्यक्तिबाटै किशोरीलाई बेपत्ता पारिएको उनका अभिभावकहरूको आरोप छ । प्रहरीले यस विषयमा पूर्ण छानबिन पछि मात्रै केही भन्न सकिने बताएको छ ।
‘अहिलेसम्म किशोरी फेला परेकी छैनन् । घटना दुर्घटना भएको विषयमा पनि केही तथ्य बाहिर आएको छैन’ प्रहरी अधिकारी भन्छन्, ‘किशोरीको खोजी भइरहेको छ । हामी अनुसन्धान गरिरहेका छौँ ।अनुसन्धान पछि केही कुरा आउँला । ’