युवामैत्री लोक दोहोरी प्रतियोगिताको उपाधि जित्दै कर्णालीले पायो एक लाख – Nepal Press

युवामैत्री लोक दोहोरी प्रतियोगिताको उपाधि जित्दै कर्णालीले पायो एक लाख

काठमाडौं । राष्ट्रिय युवा मैत्री लोक दोहोरी प्रतियोगिता २०८१ को उपाधि तारा थापा र सुमन खड्का (कर्णाली टिम) ले हात पारेको छ । १२ टिम मध्ये प्रथम हुँदै कर्णालीले एक लाख नगद पुरस्कार जितेको हो । सरकारी स्तरबाट आयोजना गरिएको यो ठुलो धनराशिको लोक दोहोरी प्रतियोगितामा हो ।

राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको आयोजना तथा सांस्कृतिक समाज नेपालको सहकार्यमा भएको दुई दिने प्रतियोगितामा पृतम पोखरेल र सबिता परियार (जनकपुर)ले दोस्रो स्थान हासिल गर्दै ३० हजार नगद प्राप्त गरेको छ ।

त्यसैगरी नारायणी टिमका घनश्याम परियार र जमुना विश्वकर्मा र राप्ती टिमका प्रकाश दुरा र आशा केसी ले तृतीय स्थान हासिल गरेका थिए ।

पर्यटन बोर्ड भृकुटीमण्डपको हलमा आयोजित कार्यक्रममा उत्कृष्ट गायक/गायिका, अनुशासित गायक/गायिका र नव गायक/गायिका विधामा पनि सम्मान गरिएको थियो ।

बद्री पराजुली, सिता थापा, चन्द्र शर्मा, सरोज विरही कार्की र वैकुण्ठ महत लगायतको निर्णायक मण्डल टोली रहेको थियो । अन्य निर्णायक समितिमा रिदम कँडेल, बबिता श्रेष्ठ मलेकु, कृष्ण काफ्ले पदम रोकाया, सीमा थापा र शान्ति कुमारी शाही रहेका थिए ।

देशमा विकराल बन्दै गएको बेरोजगारीको अवस्था, युवा पलायनले निम्त्याएको समस्या, सम्भावना र संवृद्धिका विषयमा कला संस्कृति मार्फत उजागर गर्ने उद्देश्यले लोक दोहोरी प्रतियोगिता आयोजन गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन २५ गते राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गरेका थिए भने, समापन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा गरिएको थियो ।

समापन समारोहमा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको अहिलेसम्मकै सबैभन्दा राम्रो र सृजनशील कार्यक्रम आयोजना गरेको बताएका थिए । यस्ता कार्यक्रमहरूबाट कला र संस्कृतिको संरक्षण गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रमको संयोजन सुस्मा शाही ठकुरीले गरेकी थिइन । कार्यक्रम विष्णुमाया पौडेल र अमृत खातीले सञ्चालन गरेका थिए । सांस्कृतिक समाज नेपालका अध्यक्ष समेत रहेका राष्ट्रिय युवा परिषद् अन्तर्गत कला, साहित्य सञ्जालका अध्यक्ष रामप्रसाद अवस्थीले संस्कृतिको माध्यमबाट संवृद्धिको सन्देश दिन प्रतियोगिता सफल भएको बताए ।

कार्यक्रममा वरिष्ठ लोक गायक बमबहादुर कार्की र वरिष्ठ लोक गायिका चन्द्रकला साह लाई विशिष्ट सम्मान अर्पण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर