कर्मचारीहरूले आफ्नो अवस्थामात्र सोच्ने होइन, देशको अवस्था बदल्ने कार्यमा सक्रिय हुनुपर्छ: मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्मचारीहरूलाई आफ्नो अवस्थामात्र नसोची देशको अवस्था बदल्ने कार्यमा सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन् ।
शनिबार सुर्खेतमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको कर्णाली प्रदेश कार्यसमितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले कर्मचारीहरूलाई अब देशको अवस्था बदल्ने काममा लाग्न निर्देशन दिएका हुन् ।
‘हिजो सडक आन्दोलन गर्नुपर्ने अवस्था थियो, तर आज त्यो आन्दोलनले प्रभावकारिता देखाउने समय हो’, मुख्यमन्त्री कँडेलले भने, ‘अब कर्मचारीहरूले आफ्नो अवस्थाको मात्र सोच्ने होइन, देशको अवस्था बदल्ने कार्यमा सक्रिय भूमिका निभाउनुपर्छ ।’
उनले सुशासन, दिगो विकास, सरकारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा जनताप्रति उत्तरदायी सेवा प्रवाहका लागि निजामती कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।