थारू समुदायको उत्थान गर्न आरक्षण आवश्यक छ: देउवा


रुपन्देही । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले थारू समुदायको उत्थान गर्न आरक्षण आवश्यक रहेको बताएका छन् ।
दाङको दंगीशरण गाउँपालिका-३ स्थित चखौरामा मटावाँ, बरघर (भलमन्सा) संघको आयोजनामा भएको दुई दिने सांस्कृतिक तथा रैथाने खाना महोत्सवको शनिबार उद्घाटन गदै पूर्वप्रधानमन्त्री देउवाले थारू समुदायको कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने आवश्यक औंल्याए ।
उनले थारू समुदाय कला र संस्कृतिमा धनी भए तापनि यसको बजारीकरण र प्रवर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए ।
‘थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चित छ’, उनले भने, ‘समुदायका अगुवाहरूले शिक्षाको क्षेत्रमा विशेष ध्यान दिनुपर्छ ।’
उनले दाङको विकासका लागि टरीगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको मौलिक कला र संस्कृतिको संरक्षण गर्दै यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताए ।
उनले प्रदेश सरकारले थारू सांस्कृतिक संग्रहालय र होमस्टे सञ्चालन र समुदायमा सीप हस्तान्तरणलाई पनि प्राथमिकता दिएको बताए ।
थारू समुदायले परम्परागत रूपमा उत्पादन गरेको स्थानीय मदिरालाई बजारसँग जोड्न प्रदेश सरकारले प्राथमिकता दिए पनि संघीय सरकारबाट कानूनी व्यवस्था नहुँदा ब्रान्डिङ र लेबलिङमा समस्या देखिएको उनले उल्लेख गरे ।
मटावाँ, बरघर (भलमन्सा) का केन्द्रीय अध्यक्ष तथा लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महोत्सवमा दाङ र नवलपरासीको थारू समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच, मघौटा, छोक्रा, हुर्डुंग्यालगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिने र महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवं थारू लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी पनि राखिएको बताए ।
थारू परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचारलगायत जनजातिहरूको रैथाने परिकार बिक्री तथा वितरणका लागि उपलब्ध छन् । महोत्सवमा लुम्बिनीसँगै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थारूहरूले मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्नेछन् ।
महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लाका हजारौं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वालगायत थारू समुदायको उपस्थिति रहेको छ ।