नेपाली आरोही पाण्डेद्वारा ल्याटिन अमेरिकाको सर्वोच्च शिखर आकोन्कागुआको सफल आरोहण


काठमाडौं । नेपाली आरोही प्रकाशराज पाण्डेले ल्याटिन अमेरिकाको सर्वोच्च शिखर आकोन्कागुआको सफल आरोहण गरेका छन् । फेब्रुअरी ६ मा उक्त हिमालको सफल आरोहण गरेको पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।
सातै महादेशका सातै उच्च शिखर आरोहणको दौडमा रहेका पाण्डेले स्थानीय समयअनुसार फेब्रुअरी ६ को बिहान ७ः५० मा उक्त हिमालको सफल आरोहण गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरेको नेपाली राष्ट्रिय झण्डा पाण्डेले आकोन्कागुआमा फरफराएको बताए ।
यस अगाडि पाण्डेले एसिया, अफ्रिका तथा युरोपका सर्वोच्च शिखरहरुको सफल आरोहण गरिसकेका छन् । गत जनवरी २१ मा उनी अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्स पुगेका थिए । आफ्नो आरोहणले नेपाल र अर्जेन्टिनाको कूटनीतिक सम्बन्धमा न्यानोपना आउने पाण्डेले विश्वास व्यक्त गरे ।
अबको योजना उत्तर अमेरिकाको सर्वोच्च शिखर देनालीको सफल आरोहण गर्ने रहने उनले बताए । देनाली अमेरिकाको अलास्कामा रहेको हिमाल हो । यसलाई औपचारिक रुपमा माउन्ट मेकिन्ले भनिन्छ ।