अध्यादेशमा सहयोग खोज्दै शंकर पोखरेलले आफूलाई फोन गरेको वर्षमानको दाबी – Nepal Press

अध्यादेशमा सहयोग खोज्दै शंकर पोखरेलले आफूलाई फोन गरेको वर्षमानको दाबी

गुल्मी । एमालेले सरकारले ल्याएका अध्यादेश संसदबाट स्वीकृत गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग आग्रह गरेको छ । एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई टेलिफोन गरी अध्यादेशमा सहयोग खोजेका छन् ।

माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई शनिबार सम्बोधन गर्ने क्रममा पुनले पोखरेलले आफूलाई टेलिफोन गरेको सहयोग मागेको बताए ।

सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन–२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको छ ।

सरकारले माघ १८ मा सुरु संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेशहरू पेस गरेको थियो । बिहीबारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी थियो ।

प्रतिनिधिसभामा सुविधाजनक बहुमत भए पनि राष्ट्रियसभामा अल्पमतमा रहेको सरकारले अन्तिम समयमा आएर कार्यसूचीबाटै उक्त विषय हटाएको थियो । ६० दिनभित्र संघीय संसदबाट प्रतिस्थापन विधेयक पारित भएर राष्ट्रपतिले अनुमोदन नगरे कानूनी रिक्तता हुन्छ कि भन्ने दबाबमा सरकार छ ।

उपमहासचिव पुनले अध्यादेश अस्वीकृत हुने र सरकार छाड्न नैतिक दबाब पर्ने भएपछि एमाले आत्तिएको टिप्णणी गरे । आफूले पोखरेलको प्रस्ताव ठाडै अस्वीकार गरेको उनको भनाइ थियो ।

अध्यादेशअघि सामान्य छालफल समेत गर्न आवश्यक नठानेको एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओली नैतिक संकटमा फस्ने भएपछि आफूहरुसँग सहयोगको हात बढाएको उनले बताए ।

अध्यादेशबाट शासन गर्न उद्यत भएर आफूहरुलाई बाइपास गरेको एमालेले अप्ठेरोमा परेपछि सहयोग माग्न थालेको पुनले बताए ।

मुलुकका समस्या समाधान गर्ने असल नियत भए अध्यादेश फिर्ता लिएर प्रक्रियागत रुपमा विधेयक ल्याउन उनले आग्रह गरे ।

‘दुई तिहाइको दुहाइ दिने सरकारले अध्यादेशबाट शासन गर्न खोजेको छ । संविधान संशोधनको सहमति गर्दा दुई तिहाइ छ भनेर हामीलाई बाइपास गर्न खोज्नुभयो । राष्ट्रियसभामा बहुमत नभएपछि अहिले हारगुहार गर्दै हुनुहुन्छ । आजमात्रै म पाल्पामा आइपुग्दा एमालेका महासचिव शंकर पोखरेलजीले फोन गरेर अध्यादेशमा सहयोग गर्न भन्दै हुनुहुन्थ्यो’, पुनले भने, ‘अस्तिसम्म हामीसँग दुई तिहाइ छ भनेर धाक लगाउँदै हिंड्नुभएको थियो । अब दुई दलीय व्यवस्थामा लान्छौं भन्ने हुंकार गर्नुहुन्थ्यो । अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ ।’

फरक प्रसंगमा पुनले वर्तमान सरकारले भ्रष्टाचार, अनियमितता, राज्य दोहन र तस्करीमा संलग्नलाई संरक्षण गरिरहेको आरोप लगाए ।

आफ्ना अध्यक्ष प्रचण्डले प्रमुख विपक्षी दलका नेताका रुपमा बिहीबार संसदमा बोल्दा शेरा दरबारबारे आफूमाथि उठेको प्रश्नमा छानबिन माग गरेको भन्दै आफूमाथि उठेका प्रश्नमा छानबिन गर्न तयार हो कि होइन भन्ने प्रश्न गरे ।

एकपछि अर्को गरेर मानव तस्करी र सहकारी ठगीमा संलग्न सत्तापक्षका नेता कार्यकर्तामाथि मुद्दा चलाउनु नपर्ने निर्णय गरिरहेको राज्य संयन्त्रले उस्तै प्रकृतिको कसुरमा विपक्षी दलका नेता र सर्वसाधारणमाथि विभेदपूर्ण र प्रतिशोधी तवरले छानबिन र अभियोजन गरिरहेको पुनको टिप्पणी थियो ।

‘मानव तस्करीमा प्रश्न उठेका मन्त्री जापान पुग्नुहुन्छ । जापानले एयरपोर्टबाटै फिर्ता पठाउँछ । उहाँले लगेका युवाहरु थुनामा छन् । एमालेकै सांसद भएका कारण उनले उन्मुक्ति पाएका छन् । कांग्रेसका सांसदमाथि प्रश्न उठ्छ । सरकारी वकिलले मुद्दा चलाउँदैन’, पुनले भने, ‘त्यस्तै प्रकृतिको मुद्दामा विपक्षी दलको नेतालाई देशैभर हिंडाइन्छ । के यस्तै हुन्छ नेपालमा न्याय ? यही हो लोकतन्त्र र कानूनी शासन ? प्रश्न उठेका सत्तापक्ष होस् वा प्रतिपक्ष होस् । सबैमाथि निष्पक्ष छानबिन हुनुपर्छ । अनुसन्धान निर्देशित हुनुहुँदेन भन्ने हाम्रो मान्यता हो । राज्यका संयन्त्र कसैका लागि उन्मुक्ति र कसैका विरुद्ध प्रतिशोधका साधन बनाइएकोमा हाम्रो आपत्ति हो ।’


प्रतिक्रिया

2 thoughts on “अध्यादेशमा सहयोग खोज्दै शंकर पोखरेलले आफूलाई फोन गरेको वर्षमानको दाबी

  1. सहयाेग पनि कहाँ र काे सँग माग्ने भन्ने कुरा त था पाउनु पर्ने हाे । यत्राे पार्टीकाे नेतालाई । खै के खै के । मलाई त अचम्म लाग्छ ।

  2. माओवादीको असली नेता जनार्दन नै लाग्यो । वर्षामान रून्चे कुरा गर्ने, प्रचण्डको चाकडी गरेर पदमा टिक्ने खालको नेता देखिए । अब जनार्दनलाई अर्को नेतासँग लडाएर प्रचण्डले पदमा टिकौला भनेर नसोचे हुन्छ । छैनन नेता । एमालेले स्वभाविक रूपमा सबैविपक्षी दलसँग अध्यादेशमा सहयोग मागिहाल्छ । मागेको विषयलाई यसरी सार्वजनिक मञ्चबाट लत्रिएर आयो एमाले भने जसरी प्रस्तुत हुनु नै यिनको रून्चे कुरा हो । यस्तै रून्चे कुराले यो मान्छे माओवादीमा खुम्चदै गैराखेको छ । श्रीमती र आफूलाई पद नभई नहुने नेता हुन् यी । पदको चरम भोको । काँग्रेससँगको माओवादीको गठबन्धन टुटाउने नै यहि हो आफूलाई पद चाहिएर । एमालेसँग गठबन्धन गर्न पाए मन्त्री खान पाईन्थ्यो भनेर काँग्रेससँगको गठबन्धन फुटाउन प्रचण्डलाई उचाल्ने नै यहि हो । पछि एमालेसँगको गठबन्धन दिल्लीलाई मन परेन । बफादारलाई गठबन्धन टुटाईदे भन्यो दिल्लीले । अनि आज्ञाकरीले फेरि काँग्रेसतिर टासिएर बनाउन के लागेका थियो काँग्रेस एमाले मिलेर तीन बल्डयाङ् खुवाईदिए बफादारलाई । अहिले तिलमिलाएर दिनको तीनपटक सरकार ढल्यो भनेर ढल्यो, ढल्यो, ढल्यो को नारा बोकेर देश दौडाहामा झ । त्याहा सरकार जान्छ, म फेरि सत्तामा आउछु अनि म र तिमीहरू फेरि मोज गरौंला भन्ने बाहेक अरू केही सुनिदैन । जनताले त फटाहा भनेर चिनिसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर