नेसपा नयाँशक्तिले माघ २७ देखि प्रथम राष्ट्रिय महाधिवेशन गर्ने – Nepal Press

नेसपा नयाँशक्तिले माघ २७ देखि प्रथम राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) ले प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा गर्न लागेको पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिएका छन् ।

उनले नयाँशक्ति पुरानो युगका मान्यता, दर्शन र सैद्धान्तिक आधारहरुलाई नयाँ युगको आवश्यकताअनुसार ढाल्ने लक्ष्यका साथ बनेको भन्दै महाधिवेशन नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धार भएको बताए ।

उनले भने, ‘नयाँशक्तिको प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछौ । पार्टीको आन्तरिक जीवनमा महत्वपूर्ण कार्यक्रम हो भने राष्ट्रको जीवनमा एउटा नयाँ परिघटना हो । हामीले नयाँशक्तिको मात्रै महाधिवेशन गर्दै छैनौं, नेपालको राजनीतिक प्रणालीलाई पुनर्संरचना गर्ने, पुरानो युगका जति पनि मान्यता, दर्शन र सैद्धान्तिक आधारहरु थिए, तिनीहरुलाई पुनर्संरचना गरेर नयाँ युगको आवश्यकताअनुसार दार्शनिक मान्यता, प्रणालीहरुको स्थापना गर्ने हाम्रो लक्ष्य हो । त्यसकारण नयाँशक्तिको मात्र महाधिवेशन होइन, नेपालको राष्ट्रिय राजनीतिलाई नयाँदिशा दिने एउटा वैकल्पिक राजनीतिक धारको हो ।’

उनका अनुसार महाधिवेशनका लागि एक हजार ५०० जना महाधिवेशन प्रतिनिधि छन् । यीमध्ये एक हजार ३५० जना चुनिएर आएका छन् । बाँकी मनोनीत हुनेछन् । १० प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

कात्तिकमा पोखरामा भएको विधान अधिवेशनले निर्णय गरेअनुसार केन्द्रीय समिति ९९ सदस्यीय छ । यीमध्ये ८९ जना महाधिवेशनबाट निर्वाचित भई आउनुपर्ने र १० जना मनोनीत रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर