विद्यार्थी नेताहरुलाई प्रचण्डको चेतावनी- यो वा त्यो पक्षको भनेर स्ववियु निर्वाचनसम्म कुनै लफडा नहोस्


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीमा आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको बताएका छन् ।
अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस पटक पुरानो विरासत स्थापित गरेको बताए ।
उनले भने, ‘पार्टीहरु प्रतिबन्धित भएको बेला विद्यार्थी संगठनबाट राजनीति व्यक्त हुन्थ्यो । विद्यार्थी संगठनहरुले के भन्छन् भन्ने कुराले त्यतिबेलाको राजनीति कता जाँँदैछ भन्ने व्यक्त हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत भए पनि पार्टीहरुले भूमिका निर्वाह गरिरहेका हुन्थे । यस पटक अखिल क्रान्तिकारीले त्यो विरासतअनुसार आफ्नो छाप स्थापित गर्न सफल भएको छ ।’
सिंगै देशको ध्यान अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको उल्लेख गर्दै उनले यसले संगठनको पहिचान थप उँचो बनाएको बताए ।
ठूलो उत्साहका साथ उद्घाटन भए पनि बन्दसत्र अलिअलि महाभारत जस्तो भएकाले धेरैमा चिन्ता सिर्जना भए पनि अन्तिममा लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन हुनु महत्वपूर्ण भएको प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले उमेर हद र नेतृत्व दुबैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर पार्टी दृढतापूर्वक लागेको र यसमा पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्वपूर्ण अभ्यास भएको बताए । यसबाट माओवादीले नीति र नेतृत्व दुबै लोकतान्त्रिक विधिबाट टुंग्यायो भन्ने शक्तिशाली सन्देश स्थापित भएको पनि उनले बताए ।
विद्यार्थी संगठनको निर्वाचनपछि आफूले यस पटक सही विवेकको प्रयोग गरेको संश्लेषण गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले आएको परिणामले मिलेर अघि बढ्ने र संगठनलाई एकताबद्ध बनाउने वातावरण बनेको बताए ।
यो चुनावले विद्यार्थी नहुने, तर विद्यार्थी नेता हुने स्थितिको अन्त्य गरेको उनको भनाइ छ । अब विद्यार्थी संगठनलाई पार्टीले एकताबद्ध बनाएर लैजान सहयोग गर्ने बताए ।
संसारभरिको कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।
आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै प्रचण्डले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि महत्वपूर्ण चुनौतीको रुपमा रहेको बताए । स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन निर्देशन दिँदै उनले एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गरे ।
उनले भने, ‘कम्तीमा स्ववियु निर्वाचनसम्म यहाँभित्र अर्को लफडा नहोस् भन्ने कुरामा सबै सर्तक रहनुहोला । गर्नुपर्ने हो भने पनि स्ववियु निर्वाचनपछि गरौंला । निर्वाचनअघि नै सुरु भयो भने परिणाम सोचे जस्तो नआउला भन्ने डर छ । त्यसैले त्यही निर्वाचनमा फोकस हुनुस् । पार्टीले सबै सहयोग गर्छ । अहिले को-कोले कहाँ-कहाँ गरियो, त्यसको हिसाब अहिले गर्नुपर्दैन ।’
उनले अखिल क्रान्तिकारीको महाधिवेशनको व्यवस्थापन र खर्च पार्टीले नै गरेको बताए । कुनै यो वा त्यो पक्षले सम्पूर्ण जिम्मेवारी नलिने भन्दै आगामी दिनमा पनि पार्टीले नै सबै जिम्मेवारी व्यहोर्नुपर्नेमा सचेत रहन निर्देशन दिए ।
अस्तिको चुनावमा जनार्दन बलियो भएको देखे पछि यिनको सातो गएको छ । अब धम्काएर काम चलाउन थालेछन् । जे गरे पनि अब जनार्दनले यिनलाई सजिलै निदाउन दिने छैनन ।