ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा


पोखरा । ६ पटकको विजेता नेपाल पुलिस क्लब पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लब यूकेलाई २-० गोलले पराजित गर्दै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
पुलिसले दुवै गोल पहिलो हाफमा कर्नरमार्फत गरेको हो । खेलको २८औं मिनेटमा विवेक पाण्डेले कर्नरमार्फत गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाएका थिए ।
त्यसपछि ४०औं मिनेटमा विवेककै कर्नरमा पुलिसका कप्तान राम वाजीले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । उनले कर्नरमार्फत आएको बललाई हेडमार्फत गोलको दिशा दिएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल २-० ले पुलिस खेल आफ्नो पक्षमा पार्यो ।
पुलिसले यसअघि प्रिक्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको थियो । पुलिसले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र चर्च ब्बाइज युनाइटेड क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
पुलिससँग पराजित भएको ब्रिगेड ब्वाइज क्लब पहिलो खेलबाटै घर फर्किएको छ । प्रतियोगिताको दोस्रो क्वार्टरफाइलन थ्रीस्टार क्लब र मच्छिन्द्र फुटबल क्लबबीचको खेल आइतबार हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।