भरुवा बन्दुक पड्केर बालकको मृत्यु प्रकरण: दाइ र हजुरबुबा प्रहरी नियन्त्रणमा


रूपन्देही । दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका- ३ ठुलासम्वामा भरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतक भुवनका दाजु १० वर्षीय शिशिर केसी र बन्दुक लोड गरिराख्ने ६२ वर्षीय बाजे भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।
प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरिराखेको भरुवा बन्दुक शिशिरले खेलाउने क्रममा शनिबार बिहान करिब ११ बजेतिर पड्किँदा भाइ भुवनलाई गोली लागेको थियो । प्रहरीले घट्नास्थलबाट एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रासमेत बरामद गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।
गत माघ ३ गते पनि दाङमा गोली लागेर साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।
जिल्लाको दंगीशरण गाउँपालिका- २ कौवाघारी निवासी २५ वर्षीय प्रेम कुसारीको गोली हानी हत्या गरेको अभियोगमा सोही ठाउँ निवासी २२ वर्षीय छविलाल डांँगी र २७ वर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ ।