शिक्षक तालिमबाट छुट्टिएको एक घन्टामै पूर्णबहादुरले गुमाउनुपर्‍यो श्रीमती, दुई बालक छोराहरु गम्भीर – Nepal Press
रोल्पा दुर्घटनाको पीडाः

शिक्षक तालिमबाट छुट्टिएको एक घन्टामै पूर्णबहादुरले गुमाउनुपर्‍यो श्रीमती, दुई बालक छोराहरु गम्भीर

रूपन्देही । रोल्पाको गंगादेव गाउँपालिकाका पूर्णबहादुर वलीले श्रीमती र दुई छोराहरुलाई हात हल्लाएर बिदाई गरेको एक घन्टामै श्रीमती गुमाएको दर्दनाक खबर सुन्नुपर्यो ।

दुवै जना शिक्षक रहेका पूर्णबहाुदर र उनकी श्रीमती सीता खड्का जिल्ला सदरमुकाम लिवाङमा रहेको तालिममा सँगै थिए । उनले श्रीमती र दुई छोराहरुलाई गाउँमा फर्कनका लागि जीप चढाएर बिदाई गरेका थिए तर,उनीहरु चढेको जीप त्रिवेणी गाउँपालिका–७ गाङमा दुर्घटनामा परेको थियो ।

दुवै जना शिक्षक रहेपनि बच्चा दुवै साना बालक भएकाले श्रीमती सीताले नै लगेकी थिइन् । उनी गर्तवर्ष मात्रै स्थायी शिक्षिका बनेकी थिइन्। विद्यालयको परीक्षाका लागि विज्ञान विषयको प्रश्न पत्र तयार पार्नका लागि उनी आफ्ना छोराहरुसहित लिवाङ गएकी थिइन्।

सीताका श्रीमान पूर्ण वली हालसालै सरुवा भएर गंगादेव गाउँपालिकाको विद्यालयमा आएका थिए । दुई नाबालक बोकेकी शिक्षिका श्रीमतीको दुर्घटनामा मृत्यु भएपछि अहिले पूर्णबहादुर विक्षिप्त अवस्थामा छन् ।

गंगादेव गाउँपालिका घोरनेटा निवासी २९ वर्षीया सीता खड्का जनकल्याण मावि सरपाल रुन्टिगढीमा अध्यापन गराउँथिन् भने उनका श्रीमान पूर्णबहादुरले अर्को विद्यालयमा अध्यापन गराउँथे । जिल्ला प्रहरी कार्यालय रोल्पाले दुर्घटनामा परी सीताको मृत्यु भएको र तीन वर्षीय छोरा सौरभ वली र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते भएको जनाएको छ ।

उनीहरूको स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्राथमिक उपचारपछि रोल्पा जिल्ला अस्पताल रेउघा हुँदै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ।

हिजो बेलुका माडी गाउँपालिकाको घर्तीगाउँदेखि दाङको घोराहीतर्फ लु १ च ९४०६ नम्बरको जीप दुर्घटनामा परेको हो। जीपमा चालक, सहचालक, मृतक सीता र उनका दुई छोरा गरी पाँच जना सवार थिए। दुर्घटनापछि चालक र सहचालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

सीता खड्काको घटनास्थलमै मृत्यु भएको छ । जिप सडकदेखि झन्डै ५० मिटर तल खसेको डिएसपी लामाले बताए । त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणि डाँगीले यो घटनाले सबैलाई स्तब्ध बनाएको जनाएका छन् ।

स्थानीय पत्रकार अमृत वलीका अनुसार श्रीमान–श्रीमती शिक्षक तालिममा सँगै सहभागी भएको र श्रीमान पूर्ण वली गंगादेवतर्फ जानुपर्ने भएपछि उनैले सामान बेच्नका लागि आएको गाडीमा श्रीमती र दुई छोरालाई चढाएर आफू त्यता लागेका थिए। तर सीता र उनका दुई छोरा सवार उक्त गाडी दुई किलोमिटरको दुरी पार नगर्दै दुर्घटनामा परेको उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर